Aamsanchar

रास्वपाको सडक प्रदर्शनप्रति कांग्रेसकाे आपत्ति

Author Image
बुधवार, कार्तिक ७, २०८१

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सडक प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाएको छ।

सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेदेखि नै कार्यकर्ता निरन्तर सडक प्रदर्शनमा छन्।

यस्तो हुलहुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रियाको प्रारम्भीक अनुसन्धानलाई नै प्रभाव पार्न सक्ने भन्दै कांग्रेसले बुधवार विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सहकारी ठगी प्रकरणमा केही दिन अघि अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरूले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरूलाई आतङ्कित र त्रसित पारी अनुचित दबाब सिर्जना गर्ने गतिविधि भैरहेकाले यस्ता अनुचित क्रियाकलापप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ।’

राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई वाधा पुर्याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल् पुर्याउने गतिविधि रास्वपाबाट भइरहेको भन्दै कांग्रेसले भर्त्सना गरेको छ। उसले भनेको छ, ‘कानून सबैका लागि समान हुन्छ र हुनु पर्छ । विधिको शासन भनेको कानूनका दृष्टिमा सबै नागरिक बराबरी हुनु हो।’

संसदीय विशेष समितिको छानबिन प्रतिवेदनले नै कारबाहीका लागि सिफारिस गरेको आरोपीलाई सम्बिन्धित निकायले आवश्यक अनुसन्धान गर्दा अनावश्यक दाबाब दिनु गलत रहेको कांग्रेसको बुझाइ छ।

‘प्रतिवेदनले कारबाहीका लागि सिफारिस गरेका संलग्न विभिन्न आरोपीलाई सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरिरहेको छ। आरोपितमध्ये गोर्खा मिडिया कम्पनीका सञ्चालक जीबी राई फरार रहेको, छविलाल जोशी केही समय पहिल्यै पक्राउ परी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन्।

सोही प्रकरणमा जोडिएका अर्का आरोपित रवि लामिछाने पनि केही दिन पहिले पक्राउ परी अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन्। कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रकृयालाई सहयोग पु¥याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन बढी जिम्मेवारी हुनु पर्दछ। तर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेका गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ’, विज्ञप्तिमा उल्लेख छ।

प्रचलित कानून बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरू माथि समान ढंगले अनुसन्धान गरी कानूनी दायरामा ल्याउनु पर्छ भन्ने मान्यताप्रति कांग्रेस प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)