Aamsanchar

´दाना` आज भारतको पश्चिम बङ्गाल र ओडिशाको तटमा पुग्ने, रेल सेवा र विद्यालय बन्द

Author Image
बिहिवार, कार्तिक ८, २०८१

समुद्री आँधी ´दाना` आज भारतको पश्चिम बङ्गाल र ओडिशाको तटमा पुग्ने भन्दै सरकारले चेतावनी जारी गरेको छ । पश्चिम बङ्गाल र ओडिशाका सरकारले चक्रवाती आँधीबाट बच्नका लागि तयारी पूरा भएको बताएका छन् । आँधीका कारण वन्दे भारत र राजधानी एक्सप्रेससहित दुई सय वटाभन्दा धेरै रेल बन्द भएका छन् ।

पश्चिम बङ्गाल र ओडिशा सरकारले सावधानीका रूपमा तटीय क्षेत्रबाट झन्डै तीन लाख जना मानिसलाई सुरक्षित ठाउँमा सारेका छन् । दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय पर्सि शनिवारसम्म बन्द भएका छन् । डाक्टरहरूसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

´दाना` आँधीकै कारण आज र भोलि शुक्रवार भारी वर्षाको सम्भावना छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले ´दाना` को सम्भावित प्रभाव भएका जिल्लाहरूमा स्थिति अनुगमन गर्न सचिवस्तरका अधिकारीहरूलाई नियुक्त गरिएको बताउनुभएको छ । ओडिशाका राजस्व तथा विपद् व्यवस्थापन मन्त्री सुरेश पुजारीले पर्यटकहरूलाई आउँदो चार दिनका लागि सबै होटल बुकिङ रद्द गर्न आग्रह गर्नुभएको छ ।

अस्ति मङ्गलवार तीन हजार जनाभन्दा धेरै पर्यटकलाई पुरी क्षेत्रबाट सुरक्षित रूपमा घर पठाइएको सरकारले जनाएको छ । अहिले पुरीका सबै होटल लगभग खाली रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर