Aamsanchar

उपाधिका लागि झापा–११ र सिराहाको सहलेस भिड्ने पक्का

Author Image
शुक्रवार, कार्तिक ९, २०८१

विराटनगर – सिराहाको सहलेस फुटबल क्लब मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण ७ औं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ।

 

काठमाडौं लिग विजेता चित्लाङ फुटबल क्लबलाई निराश बनाउँदै सहलेसले प्रतियोगिताको फाइनलमा झापा–११ सँगको भेट पक्का गरेको हो। बेलबारी–११ स्थित लक्ष्मी खेल मैदानमा शुक्रबार भएको दोस्रो एवं अन्तिम सेमिफाइनल खेलमा सहलेसले चित्लाङलाई ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध बनायो।

प्रतियोगिताको उपाधि रक्षाका लागि शनिबार सहलेस र झापा–११ आम्नेसाम्ने हुने छन्। खेलको चौथो मिनेटमै लिएको अग्रतालाई जोगाउन नसक्दा चित्लाङको फाइनल यात्रामा पूर्णविराम लाग्यो। समन धिमालले सलहेसका ४ खेलाडीलाई बिट गर्दै निकालेको पासलाई हेनरीले गोल गरेर चित्लाङलाई अग्रता दिलाएका थिए।

तर, चित्लाङको खुसी पहिलो हाफसम्म पनि टिक्न सकेन। मध्यान्तरअघिको अतिरिक्त समयमा सहलेसका आदित्य शाक्यले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए। पहिलो हाफअघि नै खेलमा फर्किएको सहलेसले मध्यान्तरपछि उत्कृष्ट खेल पस्कियो।

सलहेसका जितमा अजयी मार्टिनले ‘ह्याट्रिक’ गरे। अरु २ गोल आदित्य शाक्यको नाममा रहयो। ६८ औं, ८६ औं र मध्यान्तरपछिको अतिरिक्त समयमा गोल गरेर बेलबारी गोल्डकपमा ‘ह्याट्रिक’ गर्ने पहिलो खेलाडी अजयी मार्टिन बनेका हुन्। आदित्य शाक्यले टिमका लागि पहिलो हाफको अतिरिक्त समयमा र ७८ औं मिनेटमा गोल गरेका थिए।

दुवै टिमले ४–४ जना विदेशी खेलाडीलाई मैदानमा ओरालेका थिए। ‘ह्याट्रिक’ गर्ने मार्टिन खेलको म्यान अफ दी म्याच घोषित भए। उनलाई कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेन्द्रसिं हाङगामले नगद ५ हजारसहित ट्रफी प्रदान गरे।

बेलबारी गोल्डकपमा पहिलोपटक १० वटा टिमले भाग लिएका थिए। विजेताले अढाई किलो चाँदीमा २ तोला सुन जडित ट्रफिसहित नगद ८ लाख रूपैयाँ र उप विजेताले ४ लाख नगद र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर