Aamsanchar

तेहरानमा इजरायलको हवाई आक्रमण

Author Image
शनिवार, कार्तिक १०, २०८१

काठमाडौं – इजरायलले इरानमा पनि हवाई आक्रमण सुरु गरेको छ। इजरायली डिफेन्स फोर्सेज आईडीएफका अनुसार इरानी सैन्य केन्द्रहरुलाई लक्षित गरेर हवाई आक्रमण गरिएको हो।

इरानी सरकारी सञ्चारमाध्यमहरुका अनुसार राजधानी तेहरानमा कयौँ विस्फोटका आवाज सुनिएका छन्। आक्रमणपछि प्रतिक्रिया दिँदै इजरायलले संसारको कुनै पनि सार्वभौमसत्ता सम्पन्न देश जस्तै आफूसँग पनि जवाफ दिने अधिकार रहेको र त्यो कर्तव्य भएको दाबी गरेको छ।

आईडीएफका प्रवक्ता डेनियल हगारीले ७ अक्टोबर २०२३ पछि इरान सरकार र उसका मित्रहरुले इजरायलमा लगातार आक्रमण गरेको आरोप लगाए। इजरायली आक्रमणपछि इरानले तेहरानमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय बनाएको छ।

आक्रमणबाट मानवीय हताहति भएको विवरण सार्वजनिक भएको छैन। उता अमेरिकाले भने इरान आक्रमणमा अमेरिकाको कुनै पनि संलग्नता नरहेको बताएको छ। आक्रमणपछि पेन्टागनले इजरायलसँग सम्पर्कमा रहेको तर तेहरान आक्रमणमा संलग्नता नरहेको जनाएको हो।

तेहरानमा आक्रमण भएलगत्तै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायली समकक्षीसँग टेलिफोन वार्ता गरेका छन्। इजरायलले इरानमा हवाई आक्रमण गरेपछि इराकले आफ्नो आकाशमा हुने सबै उडान अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।

उता सीरियाको राजधानी दमास्कसमा पनि विस्फोटका आवाज सुनिएका छन्। दमास्कसमा पनि इजरायलले आक्रमण गरेको बताइए पनि इजरायले यसबारे केही भनेको छैन। इजरायलले हाल लेबनानमा हिजबुल्लाह समूह लक्षित आक्रमण जारी राखेको छ। यस्तै गत वर्षदेखि गाजामा सुरु भएको आक्रमण पनि जारी छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर