सप्तरी-यहाँको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन् । उनीहरु हाल राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँमा बसेका छन् ।
भारतको उत्तरप्रदेशस्थित सम्भल जिल्लाबाट १५ दिनअगाडि उनीहरुलाई ल्याइएको थियो । उनीहरुलाई ल्याउने ठेकेदार नै भागेपछि मजदुरहरु अलपत्र परेका हुन् । भारतको उत्तरप्रदेश जिल्ला सम्भल थाना हजरनगरगढीका सोनु सागरले १२ दिन जसोतसो मलेकपुरस्थित सीता इँटा उद्योगमा बसे पनि ठेकेदार सम्पर्कमा नआएपछि अलपत्र परेको बताउनुभयो । उहाँले भारतबाटै मो। जाकिर मियाँ नाम गरेको ठेकेदारले इँटा भट्टामा काम गर्न ल्याएको बताउनुभयो ।
सोही ठाउँका अर्का मजदुर बोहरा सिँहले इँटा उद्योगमा १२ दिन बसेको तर मालिकले खाना दिन छाडेपछि तीन दिनदेखि राजविराजमा भोकै बसेको बताउनुभयो । “हामीसँग पैसा छैन, घर जाने पैसा पनि छैन । कसरी घर फर्किने भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालयले सीता इँटा उद्योगबाट ११ बालबालिका, १५ महिलासहित ४४ भारतीय मजदुरको उद्धार गरेको जनाएको छ । प्रहरीले उद्धार गरी सदरमुकाम राजविराज ल्याएपछि इँटा व्यवसायीले खाना खुवाइरहेका छन् ।
सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले मजदुरहरु ल्याउने फरार ठेकेदारको खोजी भइरहेको र उनीहरुलाई भारत पठाउने प्रयाससमेत भइरहेको जानकारी दिनुभयो ।