Aamsanchar

सङ्गिनी र बालनलाई ब्युँताउदै महिला समुह

Author Image
मङ्गलवार, कार्तिक १३, २०८१

उर्लाबारी- गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच नभएको समयमा बालन र सङ्गिनीको हाई हाई थियो । मान्छे टाढा टाढाबाट बालन र सङ्गिनी हेर्न पुग्थे तर त्यही बालन र सङ्गिनी अहिले एकादेशको कथा भएको छ ।

मोरङको पथरीशनिश्चरे–३ मा स्थानीय जागरुक महिला समूहले युवापुस्तामा सङ्गिनीको परिचय गराउन प्रतियोगितात्मक भजन प्रतियोगिता र सङ्गिनीको प्रदर्शनी गरेका छन् ।

बालबालिका, युवा र बुढापाकाको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा वडाका १२ वटा कीर्तन समूहले भजन प्रस्तुत गरेका थिए भने महिलाहरूले सङ्गिनी नाच प्रदर्शन गरेका थिए ।

“सङ्गिनीमा बुढापाकाको आकर्षण थियो भने भजनकीर्तनमा युवापुस्ता र बालबालिकाले साथ दिएका थिए । गाउँघरमा कुनै शुभकार्य हुँदा नाचिने ‘बालन नाच’ र ‘सङ्गिनी’ गुमनाम भयो, त्यसैले अभियान सुरु गरेका हौँ,” स्थानीय जागरुक महिला समूहकी अगुवा रेणुका काफ्लेले बताउनुभयो । खास गरी बाहुन, क्षेत्री समुदायमा नाचिने बालन पश्चिमा संस्कृतिको प्रभाव बढेसँगै समाजमा हराउँदै गएको हो ।

जुनसुकै शुभकार्यमा बालन नाचिने गरिन्थ्यो । झन्डै डेढ दशकअघिसम्म गाउँघरमा बालन नाचेको स्मरण गर्दै स्थानीय भुवनेश्वर पोख्रेलले भन्नुभयो, “बालन नाच लोप हुन लाग्यो । त्यसैले संस्कृतिको जगेर्नाका लागि हामीले सङ्गिनी र बालनलाई सँगै ब्युँताउन कार्यक्रम गरिरहेका छौँ ।”

कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका उपप्रमुख देवीमाया काफ्लेले आफ्नो मौलिकता र संस्कृति जोगाउने उद्देश्यले गरिने यस्ता कार्यक्रमलाई स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भजन गायन प्रतियोगितामा दीर्घायु हरिकीर्तन मण्डली पहिलो, पशुपति हरिकीर्तन मण्डली दोस्रो, ज्ञानकुञ्ज हरिकीर्तन मण्डली तेस्रो र सिद्धेश्वर हरिकीर्तन मण्डली सान्त्वना भए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर