Aamsanchar

‘पन्ध्र दिवसीय वराहक्षेत्र परिक्रमा पदयात्रा’ सुरु

Author Image
बुधवार, कार्तिक १४, २०८१

वराहक्षेत्र- सुनसरीको चतराधामबाट ‘पन्ध्र दिवसीय वराहक्षेत्र परिक्रमा पदयात्रा’ सुरु भएको छ । कात्तिक १३ गते चतराधामबाट शुभारम्भ भएको पन्ध्र दिवसीय धार्मिक बृहत् पदयात्राले वराहक्षेत्र परिक्रमा गर्ने भएको हो ।

जगत् गुरु बालसन्त मोहन शरणले गत वर्षबाट सुरु गर्नुभएको पदयात्रा यस वर्ष पनि जगत् गुरु बालसन्त मोहनशरणको नेतृत्वमा सुरु भएको छ । पदयात्राका सहभागीहरुले सुनसरी, उदयपुर र धनकुटा जिल्लाका धार्मिक क्षेत्रको परिक्रमा गर्ने जनाइएको छ ।

उदयपुरको बेलका नगरपालिका क्षेत्रकोे सोमबारेमा रहेको महाङ्काल भगवतीको पहिलो दर्शन गरी कोशीनदी किनारमा रहेको कोसोप्पा गङ्गाको दर्शन गरिने जगत् गुरु पीठले जनाएको छ । उदयपुरकै मैनामैनीमा अवस्थित मैनाकुट पर्वत र मैनादेवी भगवतीको दर्शन पदयात्रीहरुले गर्नेछन् । पदयात्राको क्रममा त्रिवेणीधाम, सफाइटार, कामान्चल पर्वतस्थित शिव पान्चायन मन्दिर, मूलघाट विश्रान्तिधाम, बेलहरा, साँगुरी गढी, नमस्ते झरना हुँदै कार्कीछाप भेडेटार क्षेत्र हुँदै पदयात्रीहरु धरान आइपुग्ने रुट तय भएको छ ।

बृहतर वराहक्षेत्रभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्त्वको मठ मन्दिर, तीर्थहरुको प्रवर्धन र प्रचार प्रसार गर्ने उद्देश्यले पदयात्राको सुरु गरिएको जगत् गुरु पीठले जनाएको छ। उहाँले बृहत्तर वराहक्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका ओझेलमा परेका मठमन्दिरहरुको प्रचारप्रसारमा पदयात्राले सहयोग पुग्ने बताउनुभयो ।

धार्मिक पदयात्रीहरुले धरानको शिवजट्टाधाम, वसुधाराधाम, बूढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिर हुँदै तरहराको बाटो भएर इटहरीको वृद्ध गङ्गाको तटमा रहेको विश्वरुपेश्वर महादेव मन्दिर र झुम्का हुँदै रामपुर, मानपुर सिँगियाको परिक्रमापछि रामधुनी मन्दिर पदयात्री पुग्नेछन् । त्यसपछि प्रकाशपुर, राजाबास, सालबनी, शक्ररुद्र तीर्थ, वराह भगवानको गर्भगृहको दर्शन गरिने जगत् गुरु बालसन्त मोहनशरणले जानकारी दिनुभयो ।

पदयात्राको शुभारम्भ जगत् गुरु बालसन्त मोहनशरण देवाचार्य र कोशी प्रदेश सभाका सदस्य माननीय ममता तामाङले पानसमा बत्ती बालेर पदयात्रा शुभारम्भ गर्नुभएको थियो । शुभारम्भ कार्यक्रममा वराहक्षेत्र नगरप्रमुख रमेश कार्की, बेलका नगरप्रमुख अशोक कार्की, जगत् गुरु पीठकी कोषाध्यक्ष सीता भण्डारी पौडेललगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)