Aamsanchar

युवाहरूले सञ्चालन गरेको घरदेखि माइतीसम्म निःशुल्क मोटरसाइकल सेवा, ७४ जनाले सेवा लिए

Author Image
शनिवार, कार्तिक १७, २०८१

खोटाङ – खोटाङका युवाहरूले सञ्चालन गरेको घरदेखि माइतीसम्म निःशुल्क मोटरसाइकल सेवाअन्तर्गत ७४ जनाले सेवा पाएका छन् । चाडबाडमा सवारी साधन अभावले सास्ती खेप्नु पर्ने वाध्यतालाई मध्यनजर गर्दै सञ्चालन गरिएको अभियानअन्तर्गत शुक्रबार उनीहरूले सेवा पाएका हुन् ।

अभियानका संयोजक सञ्जयकुमार राईका अनुसार १५ जना युवाहरूले ३५ किलोमिटर दूरीसम्म सेवा दिएका हुन् । दिक्तेल–ऐसेलुखर्क गाउँपालिका, दिक्तेल–दिप्रुङ चुइचुम्मा गाउापालिका, दिक्तेल–साकेला गाउँपालिकालगायत नगरपालिका क्षेत्रभित्रका गरी ७४ जनालाई घरदेखि माइतीसम्म पुर्‍याएको राईले सुनाए । ‘युवाहरू सिर्जनात्मक काममा लाग्नु पर्छ भनेर यो अभियान सञ्चालन गरिएको हो,’ राईले भने–‘धेरैले स्याबासी दिनु भयो, खुसी लाग्यो ।’

युवाहरूले सञ्चालन गरेको अभियानअन्तर्गत साकेला गाउँपालिकाको मात्तिम माइतीसम्म पुर्‍याएकोमा आफूलाई खुसी लागेको अमृता राईले बताइन् । ‘भाइहरूले यत्ति राम्रो काम गर्नु भयो, म धेरै खुसी छु,’ उनले भनिन् ।

चेलीहरूले तिहार मनाइसकेपछि घर फर्कने बेला पनि सेवा दिने सञ्जयकुमार राईले बताए । ‘चेलीहरूले तिहार मनाइसकेपछि घर फर्कने बेला पनि सेवा दिनेछौं,’ उनले भने, ‘त्यसका लागि कात्तिक १९ गते पनि चेलीहरूलाई माइतीदेखि घरसम्म पुर्‍याउने छौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर