Aamsanchar

रास्वपाका कार्यकर्तामाथि प्रहरीले हान्याे अश्रुग्यास

Author Image
मङ्गलवार, कार्तिक २०, २०८१

लेखनाथ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता, कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि कास्की प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने छ जनालाई पक्राउ गरेको छ ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालतमा उपस्थित गराइएका बेला रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार भएको जानकारी दिनुभयो ।

“प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेका छ । हामीले छ जनालाई नियन्त्रणमा लिएका छौँ । अहिले अवस्था सामान्य छ ।” लामिछाने कात्तिक २ गते पक्राउ परेपछि ३ गतेदेखि नै रास्वपाले लगातार प्रदर्शन गरिरहेको छ । रास्वपाको प्रदर्शन नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले कात्तिक ४ गते सहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय कास्की रहेको क्षेत्रमा निषेधाज्ञा जारी गर्नुभएको थियो ।

 

लामिछानेसहित गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । लामिछाने र जोशीको बयान सकिए पनि अनुसन्धानका अरु काम बाँकी रहेकाले म्याद थपका लागि उपस्थित गराइएको हो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा लामिछाने र जोशीमाथि अनुसन्धान जारी छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शनको रकम नियमविपरीत लगी ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर