Aamsanchar

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतकाे अनुमति

Author Image
मङ्गलवार, कार्तिक २०, २०८१

काठमाडौँ – सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १० दिनको म्याद थपेको छ।

दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो। सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो। प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो।

पार्टी कार्यालयबाटै कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धिकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो। त्यति वेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत साथ लिएर सम्पत्ति शुद्धिकरणमा लामिछानेको कारोबार खोजी गरेको हो। प्रहरीले सम्पत्ति शुद्धिकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ।

यसैबीच रूपन्देहीमा पनि लामिछानेविरुद्ध पूरक जोहेरी आएको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई त्यहाँ पनि लगिनेछ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले उनलाई उपस्थित गराइदिन पत्राचार गरिसकेकाले कास्कीमा अदालती प्रक्रिया सकिएपछि त्यता लगिनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)