सुनवल – नवलपरासीको सुनवल नगरपालिका-१२ भुमहीमा देउसी भैलो खेलिरहेका स्थानीयलाई खुकुरी प्रहार गरी घाइते बनाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।
पक्राउ पर्नेमा जिल्ला नवलपरासी सुनवल नगरपालिका-३ कीर्तिपुर बस्ने २३ वर्षीय अभिषेक गुरुङ‚ सोही स्थान बस्ने २६ वर्षीय बिसन गुरुङ र सोही स्थान बस्ने २८ वर्षीय अमित गुरुङ रहेका छन्। उनीहरुबाट प्रहरीले एक थान खुकुरी र मोटरसाइकलसमेत बरामद गरेको छ।
खुकुरी प्रहारमा संलग्न तीनैजनालाई प्रहरीले खोजतलाशका क्रममा बुटवल उप-महानगरपालिका वडा नं।९ इट्टाभट्टीमा फेला पारेर पक्राउ गरी जिप्रका नवलपरासी पश्चिममा ल्याएको जनाएको छ।
जिप्रका नवलपरासी पश्चिमका सूचना अधिकारीसमेत रहेका डिएसपी रेशम बोहराले सुनवल-१२ भुमहीस्थित जे।एस।गुल्मी सुनचाँदी पसलअगाडि गएको सोमवार स्थानीयहरु देउसी भैलो खेलिरहेको ठाउँमा मोटरसाइकलमा आएका उनीहरुले निहुँ खोजेर झगडा गरेको बताए।
डिएसपी बोहराका अनुसार उनीहरुले झगडा गरेपछि राति करिब साढे ११ बजे धारिलो खुकुरीले स्थानीय देउसे भैलिनीहरुलाई प्रहार गरी घाइते बनाएर बुटवलतर्फ भागेका थिए।
घटनाको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर २ जना घाइतेलाई बुटवल हस्पिटल प्रालिमा उपचारका लागि पठाइएको जानकारी उनले दिए।
प्रहरीले आरोपी तीनैजनालाई आजै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी नवलपरासी जिल्ला अदालतबाट पुर्पक्षका लागि ७ दिन म्याद थपेर अनुसन्धान थालिएको जनाएको छ।