पर्वत – कास्कीको पोखरा महानगरपालिका–२२ शान्ति स्तुपा नजिकै भएको बस दुर्घटनामा दुईजना घाइते भएका छन्। बिहीबार दिउसो करिब साढे १२ बजेको समयमा पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको नवयुग डान्स क्लब दाङको भ्रमण टोली बोकेको बस दुर्घटनामा परेको हो। रा१ख २१०६ नं.को मिनी बसका चालकले नियन्त्रण गुमाउँदा बस सडक छेउमा रहेको तिजुको रूखमा अड्किएको थियो।
लगत्तै वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिएर बसमा सवार सात जना महिला र १७ जना पुरुष गरी २४ जनालाई एकत्रित गरेको थियो। तीमध्येका दुई जना घाइते भई उपचारको लागि नमस्ते अस्पताल बिरौटा ल्याइएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–४ की १७ वर्षिया सन्ध्या रसाइली र १९ वर्षिया मनीषा रसाइली घाइते भएका र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ। सडक छेउमा ओरालोतर्फ जोतिएको बसलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।