
तस्वीहरू : हेमराज निरौला

झापा । ताप्लेजुङ जिल्लामा रहेको पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार शिलान्यास कार्यक्रमलाई अर्को पक्षले बिथोल्न खोज्दा झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।
तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेको फुङलिङ नगरपालिकाका मेयर मादेनले बताए । ‘उनीहरु अग्लो ठाउँमा बसेका थिए, त्यहाँबाट तल ढुंगा हान्दा केही प्रहरी साथीहरु लाई पनि लाग्यो’, उनले भने, ‘यद्यपि, स्काभेटर चलाएर केबलकार शिलान्यास गरिसकेका छौं ।’



‘बकाइदा सरकारले अनुमति दिएर शिलान्यास गर्दा पनि उहाँहरुले विवाद झिक्नुभयो, प्रशासनबाट पनि हामीलाई पर्याप्त सहयोग भएन’, मेयर मादेनले थपे ।
प्रत्यक्षदर्शी हेमराज निरौलाका अनुसार, प्रहरीले एक्जाभेटरको चाबी लगेपछि विवाद बढेको थियो । त्यसक्रममा निर्माण पक्षले प्रहरीसँग चाबी मागेर एक्जाभेटर लगिछाड्ने अड्डी लियो ।
‘निर्माण पक्षले चाबी माग्दै गर्दा माथिपटिबाट ढुंगा बर्सियो, त्यसपछि त दुवै पक्षबीच हात हालाहाल भइहाल्यो,’ निरौलाले भने, ‘दुवै पक्षतर्फ घाइते भएका छन् ।’
पाथीभरा देवीको मन्दिर ताप्लजुङमा २ हजार ७९४ मिटर उचाइमा अवस्थित छ ।

