कतै छैन केही भनी अग्नि बाल्छौ
डढेलो लगाई निराशा उराल्छौ
भने चेतनाले म छान्दै विवेक
सधैं सत्यवादी बनी लेख्छु लेख
म हिँड्दै पुगेको थिएँ साधुटार
घुमेँ गाडीमा आज डोल्पा बजार
बनेका नदेखेर बाटा हजार
धुलो नेत्रमा हाली आगो नबाल
थियो तीसचालीसमा देश कस्तो
पछौटे– पनाको महामारी जस्तो
नलेखेर यो सत्य हावा फिँजाई
लथालिङ्ग जात्रा भयो भन्छ भाइ
टुकी बाल्न हम्मे थियो अन्धकार
पुरा देश विद्युत् पुगेको छ तार
कहाँ रेडियो सुन्न सक्थेँ म प्यारा
अहा फोनमा विश्व देखिन्छ सारा
सबै ठाउँमा स्वास्थ्य सेवा र शिक्षा
पुगेको छ केही नमिल्दो अवस्था
सुधारेर सम्पन्न यो देशलाई
बनाऊँ स्वयं लेकबेँसी सजाई
छ माटो र पानी यहाँ शक्तिशाली
यहीँ देवता देवी छन् भद्रकाली
उता लुम्बिनी शान्तिको दीप बाल्छ
र सन्सारलाई जुरुकै उचाल्छ
पुरा धर्तीको ताज जस्तै हिमाल
तरेली परेका हजारौँ पहाड
सुनौलो छ हाम्रो तराई मधेस
अहा स्वर्ग जस्तै छ यो दीव्य देश
जुटेछन् सबै भ्रष्ट कुख्यात डाका
चुसेछन् पुरा देश ठानेर चाका
सबै देशद्रोही – हरूलाई खेदौँ
प्रणाली यसैबाट छिट्टै लखेटौँ
सधैँ योग्य मानिन्छ कुख्यात भाले
सदा सर्वदा मस्त तारे र माले
धुपौरे घरैमा छ कि दुष्ट साले
त्यसैल त ब्वाँसाहरु जाग्न थाले
नयाँ देशका लागि गर्दै प्रयास
निराशाहरूबाट खोज्दै प्रकाश
दलाधीशको छादलाई प्रसाद
नमानी बनौँ आजबाटै प्रह्लाद ।
लक्ष्मीप्रसाद रिजाल
अर्जुनधारा -८ झापा ।