Aamsanchar

आज हरिबोधिनी एकादशी, झापाका ६ वटा पालिकामा स्थानीय विदा

Author Image
मङ्गलवार, कार्तिक २७, २०८१

झापा- आज हरिबोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ ।

आज कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइन्छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भन्ने गरिएको शास्त्रीय मान्यता छ ।

हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आजको दिन सुनसरीको बराहक्षेत्र, काठमाण्डौ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौका शेषनारायण र इचँगुनारायणमा विशेष मेला लाग्छ । त्यस्तै काठमाण्डौको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास पनि गरिन्छ ।

आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । सबै नारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । आज झापाका ६ वटा पालिकाले स्थानीय विदा दिएका छन् । भद्रपुर नगरपालिका, कचनकवल, हल्दिवारी , बाह्रदशी ,झापा र गौरीगञ्ज गाउँपालिकाले विदा दिएका हुन् । मेला लाग्ने ठाउँका अन्य जिल्लाका विभिन्न पालिकाहरुले पनि आज सार्वजनिक बिदा दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर