Aamsanchar

वराहक्षेत्र मन्दिरमा कात्तिके मेला सुरु

Author Image
बुधवार, कार्तिक २८, २०८१

वराहक्षेत्र- सुनसरीको वराहक्षेत्र मन्दिरमा पौराणिककालदेखि लाग्दै आएको कात्तिके मेला सुरु भएको छ । वराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा रहेको वराह भगवान्को विशेष पूजाअर्चना गरी मेला सुरु गरिएको हो । मेला हरिबोधनी एकादशीको दिनदेखि सुरु भएर पूर्णिमासम्म पाँच दिन लाग्छ ।

यो अवधिमा सप्तकोशी नदीमा स्नान गरी वराह भगवान्को दर्शन गर्नाले पुण्य प्राप्त हुने विश्वासका साथ दर्शनार्थीको भिड लाग्ने गर्छ । वराह क्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले मेलाका लागि आवश्यक पूर्वाधार घाट, विद्युत्, खानेपानी, स्वास्थ्य र सुरक्षाको व्यवस्थापन गरेको जनाएको छ ।

समितिका अनुसार भारतका विहारवासीले वराह भगवान्लाई आफ्नो कुलदेवता मान्ने गरेकाले मेलाको अवसरमा त्यहाँबाट हजारौँ भक्तजन आउने गर्छन् ।

मेलाको अवसरमा वराह भगवान्को दैनिक विशेष पूजाअर्चना हुनुका साथै विद्वान् आचार्यहरूबाट कथा प्रवर्चन र भजनकीर्तन हुने गर्छ । पौराणिक कथा अनुसार भगवान् वराह तथा वराह क्षेत्र धामलाई संसारको पहिलो धामका रूपमा व्याख्या गर्ने गरिएको सचिव घिमिरेले बताउनुभयो । मेलाको अवसरमा स्थानीयले उत्पादन गरेको अम्लिसोको कुचो, नाङ्लो, डालो र तेजपत्ताको राम्रो व्यापार हुने गरेकाले स्थानीयवासी निकै उत्साहितसमेत हुने गरेका छन् ।

वराह भगवान् विष्णुका १० अवतारमध्ये तेस्रो अवतार मानिन्छ । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान्ले वराहको रूप धारण गरेर डुब्नबाट जोगाएको पौराणिक कथा पाइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर