Aamsanchar

तत्कालिन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन अग्रणी भूमिका खेलेका ढुङ्गानाको निधन

Author Image
आइतवार, मंसिर २, २०८१

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको आइतबार ८३ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित उनको उपचारकै क्रममा राजधानीको फ्रन्ट लाइन अस्पताल निधन भएको हो । वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । ढुङ्गानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।

ढुङ्गाना बहुदलीय प्रजातन्त्रसहितको संसदीय व्यवस्थाका पहिलो सभामुख हुन् । नेपाली कांग्रेसका तर्फबाट २०४८ मा भएको आम निर्वाचनमा तत्कालीन काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित भएर उनी प्रतिनिधि सभाको सभामुख बनेका थिए ।
संसदीय व्यवस्था कार्यान्वयनमा तत्कालीन सभामुख ढुङ्गानाले खेलेको भूमिका अहिले पनि चर्चा हुने गरेको छ । २०५१ को संसदीय चुनावमा भने ढुङ्गाना काठमाडौँ २ मा एमालेकी विद्या भण्डारीसँग पराजित भए । अनि उनी नेपाली काँग्रेसको राजनीतिबाट टाढिए ।

वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गानाले नागरिक अगुवा तथा अधिकारकर्मीको परिचय पनि बनाए । यसैगरी ढुङ्गानाले सरकार र द्वन्द्वरत माओवादीबीचको पहिलो वार्तामा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन ढुङ्गानाले समन्वयकारी भूमिकामा आफूलाई खरो उतारेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर