Aamsanchar

चीनमा नेपाली अर्थोडक्स चिया निर्यात

Author Image
मङ्गलवार, मंसिर ४, २०८१

इलाम-इलामको गोर्खा टी स्टेटले पहिलो पटक चीनमा नेपाली अर्थोडक्स चिया निर्यात गरेको छ । युरोप, अमेरीका लगायतका देशमा चिया निर्यात गर्दै आएको गोर्खाले चियाको सबैभन्दा ठूलो बजार चीनमा पहिलो पटक ७० लाख रुपियाँ मूल्य बराबरको ६ हजार ३ सय ६२ किलोग्राम चिया निर्यात गरेको हो ।

गोर्खा टी स्टेटका सञ्चालन तथा चिया उद्योगी उदय चापाँगाईले तीन वर्षदेखि बजारका लागि चीनमा कसरत गर्दा पहिलो पटक चिया पठाउन सफल भएको जनाकारी दिनुभयो । चीनका व्यापारीले यसअघि थोरै मात्रामा नेपाली चिया आफै किनेर लैजाने गरेका थिए ।

चिया उद्योगी चापाँगाईले भन्नुभयो, ´भारतले नेपाली चियामा विषादीको मात्रा देखाएर दुख दिईरहेकोबेला चीनमा चिया निर्यात सुरु हुन चिया क्षेत्रका लागि सुखद पक्ष हो ।` उहाँले चियाको परीक्षण गरेर मात्र चीनले निर्यातको ढोका खोलेको बताउनुभयो । उहाँले चिया निर्यात भएपनि नेपाली चिया पूर्ण रुपमा अर्गानिक गर्न सके मात्र ठूलो परिमाणमा चीनमा चिया निर्यात गर्न सकिने बताउनुभयो ।

मेची भन्सार कार्यालय काकडभिट्टाका अनुसार पूर्वी नाका कोलकाता हुँदै नेपाली चिया चीन पुगेको छ । चीनको स्प्रिङ टी लिमिटेडले चिया किनेको गोर्खा टी स्टेटले जनाएको छ । नेपालले करिव दुई करोड किलोग्राम सीटीसी र करिब ६५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन गर्दै आएको राष्ट्रि चिया तथा कफी विकास बोर्डको तथ्यांकमा उल्लेख छ । ९० प्रतिशतभन्दा बढी सीटीसी र ८० प्रतिशत हाराहारीको अर्थोडक्स चिया भारत निकासी हुँदै आएको छ ।

नेपालमा करिब १७ हजार हेक्टर जमीनमा चियाखेती हुन्छ, जसबाट वार्षिक २३ हजार ७ सय ४५ टन चिया उत्पादन हुने चिया तथा कफी विकास बोर्डले जनाएको छ । चियामा १७ हजारभन्दा बढी किसान आवद्ध छन् ।

६० हजारभन्दा बढी श्रमिक प्रत्यक्ष चियामा संलग्न छन् । नेपालमै सबैभन्दा बढी अर्थोडक्स चिया इलाममा उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर