Aamsanchar

झापामा हात्ती नियन्त्रणका लागि पहल गर्ने सभामुखको प्रतिवद्धता

Author Image
बुधवार, मंसिर ५, २०८१

झापा- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले झापा जिल्ला जंगली हात्तीबाट धेरै प्रभावित बनेको बताउँदै हात्ती नियन्त्रणका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।

झापामा हात्ती आतङ्कका कारण जनजिवन प्रभावित बन्दैआएको छ । आफू निर्वाचित भएको झापा क्षेत्र २ पनि हात्तीबाट धेरै नै प्रभावित रहेकाले हात्ती आतङ्क कम गर्न आफ्नो पहलमा हात्ती प्रभावित क्षेत्रमा सुरु भएको इलेक्ट्रिक फेन्सिङको योजना प्रभावकारी बनेकाले यसलाई विस्तार गर्न लागिपर्ने बताउनुभएको हो ।

हात्तीका कारण भएको क्षतिको विषयमा म जानकार छु, उहाँले भन्नुभयो । बजेट अभावका कारण सोचेअनुसार काम गर्न नसकेको जनाउँदै सभामुख घिमिरेले हात्ती नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन पहलकदमी गर्ने प्रतिबद्धता जनाउनुभयो ।

इलेक्ट्रिक फेन्सिङलाई विस्तार गरेर जनधनको क्षति कम गर्नका लागि म लागिपरेको छु, उहाँले भन्नुभयो । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार तीन दिन लगातर सभामुख घिमिरे आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाहरुको अनुगमनमा व्यस्त रहनुभयो ।

अधुरा रहेका र निर्माणाधीन योजनाहरुको अनुगमन गर्दै आफ्ना मतदातासँग प्रत्यक्ष छलफल गर्ने कार्यक्रम तय भएको थियो । आइतवार झापा आउनुभएका सभामुख घिमिरे सोमबार काठमाडौं पुगेर सोही दिन झापा फर्कनुभएको थियो । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न काठमाडौं पुगेर पुनः झापा फर्कनुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर