Aamsanchar

सुनसरीको वराहक्षेत्रमा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन

Author Image
बुधवार, मंसिर ५, २०८१

 

वराहक्षेत्र- सुनसरीको वराहक्षेत्र १ मा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुवेर खापुङले नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक खापुङले प्रहरीले प्राप्त गरेको भौतिक संरचना तथा स्रोत साधन प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह हुने बताउनुभयो । उहाँले प्रहरी आफैंलाई पनि काममा उच्च मनोबल प्राप्तसँगै नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठुलो भूमिका हुने बताउनुभएको छ ।

समुदायमा हुने अपराधजन्य तथा दुर्घटनाका घटनाहरुलाई न्यूनीकरणका लागि समुदायस्तरबाट पनि सहयोगको आवश्यक पर्ने उहाँले जनाउनुभएको छ । कोशी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक खापुङलले भन्नुभयो, “अपराध नियन्त्रण गर्ने पहिलो सूचना हो, जुन सूचना नागरिकसँग हुन्छ, प्रहरीलाई सही सूचना समयमा दिएमा प्रहरीलाई अनुसन्धान गर्न सहज हुने र अपराधजन्य घटना न्यूनीकरण गर्न सजिलो हुने छ ।

नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयको ३ करोड १९ लख ४० हजार ३४७ रुपियाँ २४ पैसामा प्रहरी चौकी वराहक्षेत्रको भवन निर्माण कार्य सम्पन्न भएको थियो । साढे २ तल्लाको भवनमा महिला र पुरुषका लागि अलग अलग ब्यारेक, हिरासत, शौचालय, भान्सा तथा अन्य पूर्वाधार निर्माण गरिएको छ ।

एक कठ्ठा सात धुर क्षेत्रफलमा बनेको भवनको निर्माण जे.एस.एस.इन्जिनियरिङ प्रालि, ज्ञानेश्वर काठमाडौंले निर्माण गरेको थियो । २०७९ चैत १३ गते सम्झौता भई निमार्ण कार्य अगाडि बढी सम्पन्न भएको थियो ।

२०७२ सालमा स्थापना भएको प्रहरी चौकी वराहक्षेत्रले नौ वर्षपछि पक्की भवन पाएको छ । कार्यक्रममा वराहक्षेत्र नगर उपप्रमुख नन्दकुमारी सुनुवार राई, स्थानीय राजनितिक दलका प्रतिनिधि, कोशी प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखा प्रमुख प्रहरी उपरीक्षक हरि डङ्गोल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यलगायत स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरु र स्थानीयवासीको बाक्लो उपस्थिति थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर