वराहक्षेत्र- सुनसरी प्रकाशपुरका कृषक टेककुमारी बस्नेतले कृषि पेसा गरेको धेरै वर्ष भयो । बस्नेतले सात वर्षदेखि लगाएका बालीहरूमा गोडमेल गर्न छाड्नु भएको छ । गाउँमा कामदार नपाउँदा उहाँले बालीहरूमा झार मार्ने विषादीहरूको प्रयोग गर्दै आउनु भएको छ । उहाँले बर्खे खेती र हिउँदे बाली लगाउनुभन्दा अगाबै र लगाई सकेपछि झार मार्ने विषादीको प्रयोग गर्दै आएको सुनाउनुभयो । उहाँ बारीमा झार मार्न प्रयोग गर्ने प्रतिनिधि किसान मात्र हो । कृषि कामदारहरू पाउन छाडेपछि बालीमा आउने झारहरू मार्न विषादीको प्रयोग हुने गरेको छ ।
किसानहरूले झार मार्न रेजर, अफसेट, मेसेटी, मिसायल रसाईनको प्रयोग गर्दै आएका छन् । हिउँदे बालीहरू मकै, राजमा, सूर्यमुखी, तोरी लगायतका बालीहरूमा किसानले झार मार्ने विषादीको प्रयोग गर्दै आएका छन् । खेती लगाएको तीन दिनभित्र किसानहरूले झार मार्ने विषादीको प्रयोग गर्ने गरेका छन् । कृषि कामदारको अभाव हुनु र झार टिप्न समय लाग्ने हुँदा झार मार्ने रसायन सस्तो पर्ने र छिटो झार मर्ने हुँदा प्रयोग गर्दै आएको रामधुनीका कृषक रोशन विष्टले बताउनुभयो ।
गाउँ घरका युवाहरू वैदेशिक रोजगारीमा गएपछि किसानहरूले कामदारको अभावसँगै विषादीको प्रयोग गरी खेती गर्न थालेका हुन् । गाउँमा उत्पादन भएका धान, मकै, गहुँ र तरकारीहरू केही वर्ष अघिसम्म गाईबस्तुको मलबाट उत्पादन हुन्थ्यो, तर गाउँघरमा कृषि कामदारको अभावसँगै रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ । “झार मार्ने विषादी नहाल्दा बालीभन्दा बढी झार हुन्छ” प्रकाशपुरका कृषक स्याम कटुवालले भन्नुभयो । किसानहरूले झार मार्ने विषादीको प्रयोग नगर्दा झारले बिरुवालाई छोप्ने र बिरुवाले खाने खाद्य तत्त्व झारले खाने हुँदा विषादीको प्रयोग बाध्यताले गर्नुपरेको छ । कामदार पाइहाल्यो भने पनि सात सय रुपियाँ ज्याला दिनुपर्छ ।
पाँच सय रुपियाँको झार नासक विषादीले आठदेखि दश कठ्ठामा स्प्रे गर्न सकिने कृषक शंखर चन्द्रवंशीले बताउनुभयो । विषादी नै सस्तो भएकाले किसानहरूले विषादीको प्रयोग गर्दैआएका छन् । “रासायनिक मल र विषादीको प्रयोगविना कुनै बाली नै हुन छाड्यो” उहाँले भन्नुभयो । किसानले झार मार्न विषादीको प्रयोग गर्दै आएका छन् ।
झार मार्नेदेखि रोग किरा र ढुसी नियन्त्रण गर्नसम्म विषादीको प्रयोग कृषकहरूले गर्दैआका छन् । किसानहरूले पछिल्लो समय विषादीरहित बालीहरू लगाउन सकिरहेका छैनन् । बाली लगाएको दिनदेखि बाली नभित्र्याउँदासम्म विषादीको प्रयोग अनिवार्य जस्तै भइसकेको छ । किसानहरूले झारनासक, किट नासक, रोग नासक र मुसानासक विषादीको प्रयोग गर्दैआएको कृषि प्रविधकहरु बताउँछन् । झोल विषादीदेखि धुलो विषादीको माग बढी हुने गरेको उहाँहरूको भनाइ छ ।