विराटनगर – मोरङमा बिहीबार बिहान मानव कंकाल फेला परेको छ । टाउको, खुट्टा,हातलगायतका मानव अंग छरपस्ट अवस्थामा बिहान १० बजेतिर फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बूढीगंगा गाउँपालिका–५ स्थित सांग्रिला चप्पल फ्याक्ट्री अगाडिको धान खेतमा कंकाल भेटिएको पुष्टि गरे । उबेदा खातुनले लगाएको धान खेतमा कंकाल देखेपछि धान काट्न गएकाहरुले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ अनुसन्धानका लागि डीएसपी जोशी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली पनि जाँदै छ । अहिले कोशी अस्पताल विराटनगरका फरेन्सिक विज्ञ डा.ज्वाला कँडेल र प्रहरीको टोलीले घटनास्थलमा पुगेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । जोशीका अनुसार तत्काल नाम,थर, वतन तथा लिंग नछुट्टिएको कंकाल फेला परेको हो । जंगली जनावर र कुकुरले खाएजस्तो देखिने मान्छेको टाउको, हात र खुट्टा तथा खुट्टामा निलो ‘हाफ पाइन्ट’ लगाएको अवस्थामा फेला परेको उनको भनाइ छ ।
कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट कंकाललाई परीक्षणका लागि कोशी अस्पताल लैजाने प्रहरीको तयारी छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कंकाल कसको र कति पुरानो हो भन्ने खुल्न बाँकी छ । परीक्षण र अनुसन्धानपछि मात्रै सबै कुरा पत्ता लाग्ने जोशीको भनाइ छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 8