Aamsanchar

अज्ञात समूहले पिपरेस्वरनाथ महादेव मन्दिरको शिवलिङ्ग भत्काइदिएपछि स्थानीय आन्दोलित

Author Image
बिहिवार, मंसिर ६, २०८१

धनुषा- महोत्तरीको पिपरामा अज्ञात समूहले मन्दिरको शिवलिङ्ग भत्काइदिएपछि स्थानीयहरू आन्दोलित बनेका छन् । जनकपुर–जलेश्वर सडक खण्ड अन्तर्गत पिपरा गाउँपालिका–३ शिव चोकस्थित रहेको पिपरेस्वरनाथ महादेव मन्दिरमा रहेको शिवलिङ्ग गए राति अज्ञात समूहले भत्काइदिएपछि स्थानीय आन्दोलित बनेका हुन् । प्रहरीले अहिलेसम्म घटनामा संलग्नहरू पक्राउ गर्न चासो नदेखाएको भन्दै स्थानीयहरू टायर बालेर जलेश्वर–जनकपुर सडक खण्ड अवरुद्ध पारेका थिए । उनीहरूले हिन्दु राज्य कायम गर, दोषीलाई कारबाही गर, जय श्री राम लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

आनदोलनमा उत्रिएका स्थानीयहरूलाई सम्झाइ बुझाइ अवरुद्ध सडक खुलाएको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । घटनाको विषयमा प्रहरीले अनुसन्धान अगाडी बढाएको उनले बताए । ‘शिवलिङ्ग भत्काउने कार्यमा संलग्नहरूको पहिचान गर्न प्रहरी सक्रियतापूर्वक लागेको छ ।

दोषीलाई कारबाही हुन्छ,’ प्रहरी नायव उपरीक्षक जैसवारले भने । स्थानीयहरुले घटनामा संलग्न समूहलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै तीन घन्टा जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध पारेका थिए । अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक जैसवारले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर