Aamsanchar

असोजमा आएको विपत्तिबाट खानेपानी क्षेत्रमा ६ अर्बको क्षति : मन्त्री यादव

Author Image
आइतवार, मंसिर ९, २०८१

उर्लाबारी- खानेपानी मन्त्री प्रदीप यादवले गत असोजमा आएको राष्ट्रिय विपत्तिबाट खानेपानी क्षेत्रमा ६ अर्बको क्षति भएको बताउनुभएको छ।

मोरङको उर्लाबारीमा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र सङ्घीय खानेपानी आयोजनाको बृहत् सह लगानीमा दुई वर्ष अघि सुरु भएर निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो।

मन्त्री यादवले तराई मधेशमा पानीको भूमिगत स्रोत घट्दै जाँदा ठुलो चुनौती थपिएको बताउनुभयो।उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तन र चुरे दोहनको प्रभावबाट मुक्त हुन नसके शुद्ध पानी पनि हाम्रा लागि चुनौती बन्नेछ।’

मन्त्री यादवले सानो स्रोत भएका खानेपानी मन्त्रालयसँग ४२ हजार साना ठुला खानेपानी उपभोक्ता समितिले काम गरिरहेको जानकारी गराउँदै उपभोक्ता समितिका असिमित माग रहेको उल्लेख गर्नुभयो।

 

एक फरक प्रसङ्गमा मन्त्री यादवले दुई ठूला दल मिलेर बनेको यो सरकारले जनताका माग र आवश्यकता सम्बोधन गर्न नसके अरु कुनै पनि सरकारले सम्बोधन गर्न नसक्ने बताउनुभयो।

उहाँले लोकतान्त्रिक समाजवादी पार्टी ,जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समेत सरकारलाई साथ दिइरहेको बताउँदै यो सरकार जनताका समस्या समाधानका लागि बनेको उल्लेख गर्नुभयो।

उपभोक्ताहरूको ३० प्रतिशत ,सङ्घीय खानेपानी आयोजनाको ७० प्रतिशत लगानीमा २८ करोड २८ लाख ५० हजार ८३८ रुपियाँमा निर्माण भएको आयोजना २०७९ साल भदौ ३० गते सुरु भएको थियो। दुई वर्षमा पुरा हुने भनिएको आयोजना निर्धारित समयमा नै सम्पन्न भएको हो।

उर्लाबारी नगरपालिकाका वडा नम्बर ८ र ९ दमक नगरपालिकाको वडा नम्बर १०, रतुवामाई नगरपालिकाको वडा नम्बर १० र पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ५ का उपभोक्ता लाभान्वित हुने यस आयोजनाले चार लाख ५० हजार लिटरको ओभरहेड ट्याङ्कीबाट पानी वितरण गरिरहेको छ। जसका लागि २०१ किलोमिटर पाइप विछ्याइ सकेको छ।

उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ १ का प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बू ,कोशी प्रदेशका सांसद उमाकान्त गौतम, नगर विकास कोष महाशाखाका प्रमुख सुवास पन्त लगायतले धारणा राख्नुभयो।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिला शाक्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ , विराटनगर आयोजनाका प्रमुख सुरतलाल चौधरीलगायतको उपस्थिति थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)