Aamsanchar

बिर्तामोड झापा कपका लागि मैदान स्तरोन्नति गर्दै झापा ११

Author Image
मङ्गलवार, मंसिर ११, २०८१

बिर्तामोड । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ ।

यही मंसिर २९ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि बिर्तामोड(३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत धमाधम भइरहेको झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

मैदानको झार छाँटेर रंगशालालाई पुरानै अवस्थामा पुर्‍याउन गोडमेल तथा मर्मतको काम तीव्र गतिमा भइरहेको हो । डोमालाल राजवंशी रंगशाला देशभरका खेल मैदानहरुमध्ये उत्कृष्ट र आकर्षक मानिन्छ ।

खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने झापा गोल्डकपका संस्थापक संरक्षक तथा योजनाकारसमेत रहेका गुरुङले बताए ।

झापा ११ ले आफ्नो ‘होम ग्राउन्ड’ मा आयोजना गर्ने प्रतियोगितामा मैदानको आकर्षण नघटोस् भनेर आयोजक समितिले छोटो समयमा काम सुरु गरेको हो । रंगशालामा उम्रिएका अनावश्यक झार उखेल्ने तथा प्राकृतिक घाँस रोप्ने काम थालिएको छ ।

उनले मैदान संरक्षणमा दीर्घकालीन योजना आवश्यक रहेको बताए । ‘यसरी झार उखेल्ने अस्थायी काम हो’, गुरुङले भने, ‘यसको दीर्घकालीन योजना हुनैपर्छ ।’ झापाकै गौरवका रुपमा रहेको यो रंगशालालाई बाचइराख्न जरुरी रहेको उनी बताउँछन् ।

रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण गरिने प्रतियोगिताका संयोजक केशवराज दाहालले जानकारी दिए ।

झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो ।

प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतका दुई वा तीनसहित १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ८ गते हुनेछ ।

झापामा फुटबलको स्तर बढाउने तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङ बताउँछन् । यसअघि सोही रंगशालामा गुरुङकै अगुवाईमा झापा गोल्डकपको सुरुवात भएको थियो ।

११ वर्षअघि अखिल नेपाल फुटबल संघको आयोजनामा काठमाडौँमा सम्पन्न एन्फा कपमा पहिलोपटकको सहभागितामा नै ए डिभिजन क्लबहरुलाई पराजित गर्दै झापाली टिम च्याम्पियन बनेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर