काठमाडौँ – काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रमा ट्याक्सीमा महिलाहरूलाई बोकेर हिँड्ने र यौनधन्दा गराउने गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–१ घर भएर बालाजु बस्ने सूर्य बहादुर तामाङ उर्फ प्रितम र रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भएर कागेश्वरी मनोहरा बस्ने चेत बहादुर कटुवाल छन् ।
आरोपीहरूले ललाई फकाई महिलाहरूलाई ग्राहकसँग यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले दुईवटा ट्याक्सीमा सवार ६ जना महिलाको उद्धार गरेको छ ।
सूर्य बहादुर बा.२ ज ५१४३ नम्बरको ट्याक्सी चालक र कटुवाल बा।२ ज ५१८६ नम्बरको ट्याक्सीका चालक हुन् । उनीहरू विरुद्ध प्रहरी वृत्त दरबारमार्गले मानव बेचबिखन तथा ओसारपसार अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
आरोपीहरूले ‘काममा लगाइदिन्छौ’ भनेर पीडितहरुको कमजोर आर्थिक अवस्थाको फाइदा लिएर यौन सम्पर्क गर्न बाध्य बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।