Aamsanchar

स्थानीय तह उपनिर्वाचनमा राप्रपाकाे मत यस्तो देखियाे

Author Image
सोमवार, मंसिर १७, २०८१

झापा – स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लज्जास्पद मत पाएको छ ।

त्यसो त, २०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाले जितेकामध्ये कुनै पनि स्थानमा उपनिर्वाचन भएको थिएन । तर पनि जनमत मापन गर्ने लोकतान्त्रिक माध्यम मानिएको निर्वाचनमा यो पार्टीप्रति जनताको खासै उत्साह र भरोसा देखिएन ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै गृहजिल्ला झापाको कन्काइ नगरपालिका–६ को वडा अध्यक्ष पदमा राप्रपाले जम्मा २६ मत प्राप्त गरेको छ । यहाँ राप्रपाले नारायणप्रसाद सिटौलालाई उम्मेदवार बनाएको थियो । उनी पाँचौँ स्थानमा रहे ।

सुनसरीको गढी गाउँपालिका– ६ को वडा अध्यक्षमा राप्रपा चौथो स्थानमा सीमित रह्यो । यहाँ कांग्रेसका तेतर साहु ८१६ मतसहित निर्वाचित हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवारले ७९४ मत पाए । एमालेका शन्तु उरावले ७७० मत पाए । राप्रपा उम्मेदवार कबिता कुमारी उराव भने ८७ मतमा सीमित रहिन् ।

यसैगरी तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु ४४० मतसहित निर्वाचित हुँदा राप्रपाका उम्मेदवार रत्नबहादुर श्रीपाली पाँचौँ स्थानमा रहे । उनले जम्मा ४ मत पाए । यहाँ एमाले दोस्रो, रास्वपा तेस्रो, नेकपा माओवादी केन्द्र चौथो भए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा पनि राप्रपाको मत लज्जास्पद देखिएको छ । यहाँ राप्रपाका उम्मेदवार चन्द्रमणि दाहाल पाँचौँ स्थानमा रहँदै ३ मत प्राप्त गरे ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडा अध्यक्षमा राप्रपाका लालबाबु साह कुल ९ उम्मेदवारमध्ये पुछारबाट दोस्रो रहे । आठौँ स्थानमा रहेका उनले जम्मा १७ मत प्राप्त गरे ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडा अध्यक्ष पदमा राप्रपाका उम्मेदवार चौथो स्थानमा सीमित रहे । यहाँ राप्रपाका सतिश कुमार चौधरी थारुले १६५ मत प्राप्त गरे ।

सोही पालिकाको वडा नम्बर ४ को अध्यक्ष पदमा राप्रपाका रामकुमार यादव ६ मतका साथ छैटौँ स्थानमा रहे ।

यसैगरी काठमाडौँको कीर्तिपुर नगरपालिका–१ को वडा अध्यक्षमा राप्रपाका सुरेन्द्र प्रसाद उप्रेती ६४ मतका साथ सातौँ स्थानमा रहे । सोही पालिकाको वडा नम्बर ४ मा राप्रपाका उम्मेदवार बिजेस बस्नेत ८७ मतका साथ पाँचौँ स्थानमा सीमित रहे ।

काठमाडौँ महानगरपालिका–१६ मा पनि राप्रपाका उम्मेदवार पाँचौँ स्थानमा सीमित भए । यहाँ राप्रपाका श्याम कृष्ण श्रेष्ठले ६२२ मत प्राप्त गरे ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा राप्रपाका उम्मेदवार प्रेम बहादुर भोलन १७८ मतका साथ चौथो स्थानमा रहे ।

गुल्मीको मुसिकोट नगरपालिका–१ मा राप्रपाका उम्मेदवार इश्वरी खाती ५ मतका साथ पाँचौँ स्थानमा रहिन् ।

यस्तै, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को वडा अध्यक्षमा राप्रपाका इनताज अहमद धोवी ६६ मतका साथ सातौँ स्थानमा रहे ।

यसैगरी रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडा अध्यक्षमा राप्रपाका पहल बहादुर वलीले जम्मा १० मत प्राप्त गरे ।

यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा राप्रपाका रत्नले जम्मा ५२ मत प्राप्त गरे । उनी पाँचौँ स्थानमा सीमित रहे ।

कालिकोटको तिलगुफा नगरपालिका–४ को वडा अध्यक्ष पदमा राप्रपाका गोगन बहादुर शाही १७ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहे ।

जाजरकोटको कुसे गाउँपालिका–७ मा राप्रपाका उम्मेदवार लालबहादुर खत्री ८ मतका साथ पुछारमा रहे । यहाँ कुल ४ उम्मेदवार मैदानमा थिए ।

दैलेखको दुल्लु नगरपालिका–१३ को वडा अध्यक्षमा राप्रपाका रेशम बहादुर मल्ल १३ मतका साथ पाँचौँ स्थानमा रहे ।

दैलेखकै महाबु गाउँपालिका अध्यक्षमा राप्रपाका सुर्जे रावत ४७ मतका साथ छैटौँ स्थानमा रहे ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडा अध्यक्षमा भने राप्रपाका उम्मेदवार तेस्रो स्थानमा रहे । १२ उम्मेदवारबिच प्रतिस्पर्धा भएको यहाँ राप्रपाका सुशील कुमार भट्ट ३६९ मतका साथ तेस्रो स्थानमा रहेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर