धनुषा – कृषिमा भित्रिएको आधुनिक प्रविधिले तराई मधेशका सबैजसो गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ ।
केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका धेरैजसो किसानहरू पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्र्याक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो ।
खेती किसानी पनि गर्दै आउनुभएका जिल्ला समन्वय समिति धनुषाका पूर्वसभापति रामदेव यादव किसानले गोरु पाल्न छाडेपछि थ्रेसर र ट्र्याक्टरको सहायताले दाइँ गर्न थालेको बताउनुहुन्छ ।
एक दशक अघिसम्म खेतका फाँटमा खलो बनाई धान, मसुरो, तोरी, गहुँलगायतका अन्न झाँटेर बोटमा बाँकी बसेका अन्न झार्नका लागि मियोका वरिपरि गोरु घुमाएर दाइँ गर्ने परम्परा थियो । तर आधुनिक प्रविधिका कारण गाउँमा दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ ।
मेशिनको प्रयोगसँगै गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन पनि हट्न थालेको क्षीरेश्वरनाथ नगरपालिका–४ का किसान जगदीश यादवले बताउनुभयो । मेशिनको सहायताले दाइँ गर्दा त्यसले उडाएको भुसले भने हावामा प्रदूषण बढाएको उहाँको अनुभव छ ।