झापा – दमकमा बहुपयोगी १८ तले भवन निर्माण गरिएको छ । दमक नगरपालिका–३, दापगाछीमा एक अर्ब ४५ करोड रुपैयाँको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (भोलि) उद्घाटन गर्ने कार्यक्रम छ ।
‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशीष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले उल्लेख गरे ।प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर नगरपालिका–४, बाहुनडाँगीस्थित मानव आश्रम भवनको आइतबार नै उद्घाटन गर्ने कार्यक्रम छ । उनका साथ प्रथम महिला राधिका शाक्य पनि भवन उद्घाटन कार्यक्रममा सहभागी हुने नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।