काठमाडौं – काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई फोहोर गरेको भन्दै एक लाख जरिवाना पत्र काटेको विषय बैठकमा प्रवेश भएको छ। हिजो (आइतबार)काठमाडौं महानगरपालिकाको ३७ औँ कार्यपालिका बैठकमा महानगरपालिका वडा-२१ वडाअध्यक्ष उदयचूडामणि बज्राचार्यले नियोजित ढंगले उक्त पत्र काटिएको भन्दै खारेज गर्न माग गरे।
उनले गणतन्त्र विरोधीलाई मूर्दावाद भन्दै नारा नै लगाए। उनी नेकपा एमालेका वडाअध्यक्ष हुन्। उनले भने,‘हामी सबै लोकतन्त्र,गणतन्त्रबादी हौँ,हामी यसैलाई मानेर उपस्थित भएका हौँ,एमालेको कार्यक्रम भइरहेको बेला एक लाख जरिवाना भनेर जुन पत्र आयो,जुन त्यहाँ कार्यक्रम नै सकिएको थिएन,२ बजे नै एक लाख जरिवाना भनेर पत्र सामाजिक सञ्जालमा सार्वजनिक भयो,त्यो कसरी आयो,त्यो कसको निर्देशनमा आयो,कसरी गरियो,त्यो अधिकार छ की छैन,त्यस बेला अरूका पनि कार्यक्रम भएको थियो,अरूका चाही किन पत्र काटिएन,एमालेलाई मात्रै किन काटियो, यो पूर्वाग्रह हो नियोजित ढंगले गरियो त्यसैले आजैको बैठकबाट त्यो पत्र खारेज गरियोस् त्यो माग गर्छु।’
उक्त मागपछि महानगरपालिका प्रमुख बालेन शाहले समस्या समाधानका लागि सम्बन्धित विभाग र प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिए। उनले भने,‘बैठकमा विविध धेरै कुरा आएकाले यसको समस्या समाधानका लागि सम्बन्धित विभाग र प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिन्छु।’
महानगरपालिकाले मंसिर ७ गते दरबारमार्गस्थित खुल्ला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै नेकपा एमालेलाई एक लाख जरिवानासहित पत्र काटेको थियो।
उक्त पत्रमा भनिएको छ, ‘मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा-१ दरवारमार्गस्थित खुल्ला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकाले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु।’ तर,उक्त पत्रको प्रतिवाद एमालेले गर्दै आएको छ।