Aamsanchar

गिरिबन्धुको फाइल खोल्न थालेसँगै रातारात सरकार फेरियाे : प्रचण्ड

Author Image
मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिबन्धु टि-स्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाएका छन्।

मंगलवार चितवनमा आयोजित एक कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्। उनले आफ्नो नेतृत्वको सरकारले गिरिबन्धुको फाइल खोल्न थालेसँगै रातारात सरकार फेरिएको आरोप लगाए।

अध्यक्ष प्रचण्डले अहिलेको सरकारको नेतृत्व गर्ने राजनीतिक दलका सम्बन्धित मानिसहरु नै सबैभन्दा बढी सहकारी ठगीमा संलग्न रहेको आरोपसमेत लगाए।

उनले कांग्रेस र एमालेका नेताहरुले रवि लामिछानेलाई आफ्नो साथमा ल्याउन प्रधानमन्त्रीको अफर गरेको कुरा आफूले देखेको र सुनेको दावीसमेत गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पक्राउ गरेको चर्को मूल्य एमाले र कांग्रेस दुवैले चुकाउनुपर्ने चेतावनी पनि उनले दिए।

उनले गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने र भ्रष्टाचारको फाइल खोलिनुपर्ने माग गरे। उनले भ्रष्टाचार गर्नेहरुमाथि कारबाही हुनुपर्ने माग पनि गरे।

‘मैले दोस्रो चरणमा गिरिबन्धुको, सर्वोच्च अदालतले पनि आदेश दिइसकेको थियो र म गिरिबन्धुको फाइल खोल्ने अन्तिम तयारीमा थिएँ‚’ उनले भने, ‘र अहिले गिरिबन्धुको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिको साथ अघि बढेको छ। गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्‍यो। त्यहाँ भएको भ्रष्टाचारको फाइल खोलिनुपर्‍यो। उनीहरुमाथि कारबाही गर्नुपर्‍यो।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)