झापा – झापामा बलात्कार तथा यौनजन्य हिंसाका घटना बढिरहेको रहेको पाइएको छ । जसमा १० देखि १८ वर्ष उमेर समूहका आदिवासी–जनजाति समुदायका बालबालिका बढी हिंसामा परेका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा सञ्चालन रहेको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)अन्तर्गत लैङ्गिक हिंसा व्यवस्थापन समिति झापाको वार्षिक समीक्षा बैठकमा सार्वजनिक गरिएको हिंसा सम्बन्धी तथ्यांकमा यस्तो पाइएको हो ।
ओसीएमसीका फोकल पर्सन निशुसा शाक्यका अनुसार चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म जिल्लामा ४७ वटा बलात्कार घटना घटिसकेको बताइन् । यौन दुर्व्यवहारका १२ र शारीरिक दुर्व्यवहारका २ घटना भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ११४ बलात्कार, ५५ यौन दुर्व्यवहार र १० शारीरिक दुर्व्यवहारका घटना घटेको थियो ।
आर्थिक वर्ष २०७९/०८० मा ११८ बलात्कार, ३६ यौन दुर्व्यवहार, ६ शारीरिक दुर्व्यवहार र ३ मानव बेचबिखनको घटना ओसीएमसीको सम्पर्कमा आएको फोकल पर्सन शाक्यले बताइन् । हिंसामा पर्ने अधिकांश घटना प्रहरीबाट आउने गरेको बताउँदै उनले भनिन्,‘आदिवासी–जनजाति समुदायका महिला तथा बालबालिका सबैभन्दा बढी हिंसा परेको देखिन्छ, त्यसपछि ब्राह्मण–क्षेत्री र दलित समुदायबाट रहेको छ ।’
जिल्लाका १५ वटा पालिकामध्ये नगरपालिकातर्फ मेचीनगर र दमक तथा गाउँपालिकातर्फ हल्दिबारी र कचनकवलमा सबैभन्दा बढी घटना भइरहेको छ । लैङ्गिक हिंसाबाट विशेषगरी महिला तथा बालबालिकाहरू पीडित र प्रभावित हुने भएकोले उनीहरूको स्वास्थ्य उपचार लगायत कानुनी, मनोसामाजिक परामर्श, सुरक्षा, सुरक्षित आवास र पुनर्स्थापनाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्लाका सरकारी अस्पतालमा ओसीएमसी स्थापना गरेको हो । सोहीअनुसार ओसीएमसीले हिंसामा परेकी महिला तथा बालबालिकाहरूको समस्याहरूलाई एकीकृत र प्रभावकारी रूपमा सम्बोधन गर्दै आइरहेको उनले बताइन् ।
मेची प्रादेशिक अस्पतालमा २०७६ सालमा ओसीएमसीको स्थापना भइ महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको कार्यक्रम संयोजक डा। मनोजकुमार शाहले बताए । अस्पतालमा डा। शाह, डा। रुपेश गौतम र स्टाफ नर्स जानुका धिमालले हिंसामा परेकाहरूलाई सेवा प्रदान गरिरहेको छ ।
चालु आर्थिक वर्षमा यो कार्यक्रम सञ्चालनका लागि सरकारले १२ लाख बजेट छुट्टाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी तथा लैङ्गिक हिंसा व्यवस्थापन समितिका अध्यक्ष बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा भएको बैठकमा जिल्लाभरि प्रभावकारी रुपमा ओसीएमसी कार्यक्रम सञ्चालन गर्नका लागि विभिन्न बुँदामा निर्णय गरिएको छ ।
बैठकमा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामबाबु खड्कालगायत सहभागीहरूले आ-आफ्नो धारण राखेका थिए ।