उर्लाबारी-बजारमा उच्च माग भएका साल र अस्ना जातका रुख नभएका सामुदायिक वनहरू वैकल्पिक आय खोजी गर्न थालेका छन् । जङ्गलबाट ढलापडा सुक्खाखडा रूखहरू निस्किन छोडेपछि सामुदायिक वनहरूले वैकल्पिक आयको बाटो खोजी गरेका हुन् । वन र पानीको मुहान संरक्षण पनि हुने र सामुदायिक वनको आय पनि बढ्ने भएपछि मोरङको उर्लाबारी–२ स्थित प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहले वनद्वारा संरक्षित क्षेत्रमा बृहत् माछापालन सुरु गरेको छ । पानीको स्थायी स्रोत भएको डुम्बा खोलाको पानी पोखरीमा भरेर सामुदायिक वनले हाल ७ वटा साना ठूला पोखरीमा माछापालन गरिरहेको छ ।
कुल १४२ हेक्टरमा फैलिएको वन क्षेत्रको सिमसारलाई विस्तार गरी पोखरी निर्माण गरिएको हो । सामुदायिक वनका अध्यक्ष तारीलाल धिमालले भन्नुभयो– वन तथा वातावरण मन्त्रालयको चुरे उत्थानशील आयोजना व्यवस्थापन एकाइ इटहरीको आर्थिक सहयोगमा सामुदायिक वनले पोखरी खनेर ४८५ किलो माछाका भुरा हालेको छ । यो वर्ष २५ लाख रुपियाँको माछा बिक्री गर्ने योजना छ ।
पहिलो चरणमा उपभोक्ता समितिको दुई लाख २३ हजार ५७१ रुपियाँ र चुरे उत्थानशील आयोजनाको १९ लाख २३ हजार ७२६ रुपियाँ गरी कुल २१ लख ४७ हजार २९७ रुपियाँमा पोखरी खनिएको हो । १८ कट्ठा र १० कट्ठा पानीको भूभाग रहेका दुईवटा पोखरी उक्त रकमले खनेको जानकारी अध्यक्ष धिमालले दिनुभयो ।
सामुदायिक वनले दोस्रो चरणमा उपभोक्ताको ५८ हजार ८८६ रुपियाँ र चुरे उत्थानशील आयोजनाको चार लाख ८० हजार८७३ रुपियाँ गरी कुल ५ लाख ३६ हजार ७५९ रुपियाँमा पानीको भूभाग मात्र ७ र १२ कट्ठा भएका दुईवटा पोखरी खनेको छ । चारवटा पोखरीमा माछाका भुरा हालिसकिएको छ भने साना तीनवटा पोखरी निर्माणाधीन छन् । सामुदायिक वनलाई बृहत् जलाधार व्यवस्थापन कार्यालय कोशीले २७ लाख रुपियाँ अनुदान दिएपछि सामुदायिक वनले थप तीनवटा पोखरी खनेको हो ।
डुम्बा खोला र सोल्टी खोलाको बिचमा रहेको सामुदायिक वन क्षेत्रमा सौन्दर्य भर्न वनले आफैँ पनि १५ लाख खर्च गरिसकेको छ । सिमसारको बिचमा रहेको वनलाई आन्तरिक पर्यटकको नयाँ गन्तव्य बनाउने गरी काम गरिरहेको सामुदायिक वनका अध्यक्ष तारीलाल धिमालले बताउनुभयो ।
त्यसो त मोरङकै पथरीशनिश्चरे–२ को सुन्दर सामुदायिक वन, कानेपोखरी–७ को ग्रामीण सुधार सामुदायिक वनले यसअघि नै संरक्षण क्षेत्रका तलाउ, पोखरीमा माछापालन गर्न थालिसकेका छन् ।