Aamsanchar

प्रलेस दाङले आठ जना साहित्यकारलाई पुरस्कृत गर्ने

Author Image
बुधवार, मंसिर २६, २०८१

घोराही । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले ३२ औं स्थापना दिवस तथा १२ औं अधिवेशनमा दाङका आठ जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रलेस दाङको प्रतिभा छनौट समितिको बैठकले प्रलेस दाङमा स्थापित पुरस्कारका लागि प्रतिभा छनौट गरेको हो ।

प्रलेस दाङका अध्यक्ष तथा प्रतिभा छनौट समितिका संयोजक भुवन देवकोटा शरदको अध्यक्षतामा बसेको प्रतिभा छनौट समितिले आठ जना साहित्यकारलाई पुरस्कृत गर्ने, एक जना अग्रज बामपन्थी नेतालाई सम्मान गर्ने र सांगठिक हितका लागि सहयोग गर्ने एउटा संस्थालाई सम्मान गर्ने निर्णय गरेको बताइएको छ ।

समितिले गरेको निर्णय अनुसार प्रलेश दाङले यस बर्षको प्रगतिशील साहित्य पुरस्कार साहित्यकार तथा राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष डा. टिकाराम उदासीलाई प्रदान गरिने भएको छ । यसैगरी प्रलेश दाङमा स्थापित अनन्त टिका प्रतिभा पुरस्कार साहित्यकार शालिकराम रजौलेलाई, सुदय केशव तिलोत्तमा साहित्य पुरस्कार पुरुषोत्तम खनाललाई, कृष्ण गायत्रा साहित्य पुरस्कार डा. लोकराज पराजुलीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रलेसमा स्थापित चिन्तामणि जमुना साहित्य पुरस्कार छविलाल कोपिलालाई, लिला फना बसन्ता श्रष्ठा सम्मान साहित्यकार सितादेवी सापेकोटालाई, गोविन्द चिस सर्जक पुरस्कार गोविन्द खड्कालाई र गोविन्द ज्ञवाली साहित्य पुरस्कार दिप्ती शिखा चौधरीलाई प्रदान गर्ने निर्णय गरिएको प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाले जानकारी दिनुभयोे ।

आगामी पुस ३ गतेका दिन प्रलेसको स्थापना दिवस तथा बार्षिकोत्सवका अवसरमा दाङका पुराना बापमन्थी नेता तथा लेखक बामदेव शर्मा आचार्यलाई सम्मान गर्ने निर्णय गरिएको छ । प्रलेसले हरेक बर्ष एकजना अग्रज साहित्यकार तथा बामपन्थी चिन्तकलाई सम्मन गर्दै आएको छ । यसका साथै प्रलेसले प्रलेसको संस्थागत विकासका लागि योगदान दिएको भन्दै घोराही उपमहानपालिकालाई पनि सम्मान गर्ने निर्णय गरेको छनौट समितिका संयोजक देवकोटाले जानकारी दिनुभयो ।

२०५० साल पुस ३ गतेका दिन स्थापित प्रलेस दाङले हरेक बर्ष पुसको ३ गतेका दिन स्थापना दिवस र श्रष्ठा सम्मान कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर