काठमाडौँ – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पाँचौँ हारसँगै प्लेअफ होडबाट बाहिरिएपछि समग्रमा नेपाल प्रिमियर लिग (एनपिएल) को यात्रामा लक्ष्यअनुरूपमा खेल्न नसकेको बताएका छन्।
काठमाडौँ गुर्खाजसँगको हारपछि भएको पत्रकार सम्मेलनमा लुम्बिनीका कप्तान रोहितले आफ्नो क्षमताअनुरूप टोलीले नै खेल्ने नसकेको बताएका हुन्। शुरुका खेलमा बलिङमा चुकेको र पछिका ब्याटिङमा राम्रो हुन नसक्दा खराब नतिजा सामना गरेको उनको बुझाइ छ।
उनले समग्रमा लुम्बिनीको लागि पहिलो संस्करण राम्रो नभएको उल्लेख गरे। साथै रोहितले काठमाडौँले दिएको लक्ष्य भेट्टाउन सकिने खालको रहेको बताए तर आफ्नो टोलीले राम्रो ब्याटिङ गर्न नसकेको उनको भनाइ छ।
रोहितले एउटै मैदानमा धेरै खेलिरहँदा विकेट स्लो भए पनि आफ्ना ब्याटरले योजनाअनुरूप खेल्न नसकेको उल्लेख गरे।
काठमाडौँका स्पिनरले पनि धेरै राम्रो बलिङ गरेको उनी बताउँछन्। उनले आगामी सिजनबारे अहिले नै नसोचेको पनि बताए। विकेट सोचेअनुरूपमा नभएकाले धैर्यतापूर्वक खेल्नुपर्ने उनको धारणा छ।