नयाँदिल्ली – साउथ सुपरस्टार अल्लु अर्जुन पक्राउ परेका छन् । शुक्रबार हैदरावाद प्रहरीले साउथ सुपरस्टार अल्लुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । चलचित्र ‘पुष्पा–२’ को प्रिमियरको क्रममा भागदौड भएको थियो । भागदौडमा एक महिलाको मृत्यु भएको थियो । यही मामलामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसअघि प्रहरीले यही मामिलामा तीन जना लाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा थिएटर सञ्चालक सन्दीप, थिएटर म्यानेजर नागराजु र बालकनी सुपरभाइजर रहेका छन् ।
जानकारीअनुसार घटनापछि मृतकका परिवारले प्रहरीमा उजुरी दिएका थिए । तीनै जनाविरुद्ध भारतीय न्याय संहिता ऐनको धारा १०५ र ११८ (१) र ३ (५) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । घटनामा घाइते भएका ९ वर्षीय बालक श्रीतेजको स्वास्थ्यमा सुधार भइरहेको भनिएको छ ।
गएको बुधवार राति हैदरावादको सन्ध्या थिएटर पुष्पा २ को विशेष प्रिमियर थियो । यस कार्यक्रममा फिल्मका मुख्य अभिनेता अल्लु अर्जुन पनि पुगेका थिए । हलबाहिर उनलाई हेर्न भीड जम्मा भएको थियो ।
एक्कासि भागदौड मच्चिँदा रेवती नाम गरेकी एक महिलाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । घाइते हुनेमा रेवतीको ९ वर्षीय छोरा श्रेतेज पनि थिए ।
आफ्नो श्रीमती र छोराको अवस्थाको जिम्मेवार अभिनेता अल्लु अर्जुन भएको मृतक महिलाका पतिको भनाइ छ । अभिनेताको टिमले उनी थिएटरमा आउन लागेको कुरा प्रहरीलाई भनेको भए यति ठुलो घटना हुने थिएन भन्ने उनको तर्क छ ।
यो घटनापछि अल्लु अर्जुनले आफ्नो एक्स ह्यान्डलमा भिडियो शेयर गर्दै मृतक महिलाको परिवारलाई २५ लाख भारु सहयोग गर्ने घोषणा गरेका थिए।