झापा – मोरङ्गको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर तीन शान्ति टोलका महिलाहरू सँगिनी र बालन नाच संरक्षण र पुस्तान्तरणका निम्ती जुटिरहेका छन् । ‘महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूह’ ले सँगिनी नाचको प्रचारप्रसारका साथै पुस्तान्तरणका कार्यक्रम गरिरहेको छ ।
नेपाली मौलिक संस्कृति झल्कने नाचहरु लोप हुँदै गएकाले आफूहरुले जोगाउने अभियान थालेको समूहकी अध्यक्ष देवीमाया पोखरेलले बताउनुभयो । समूहले नयाँ पुस्तामा जानकारी दिन हरेक हप्ताको मङ्गलवार बेलुका सँगिनी प्रशिक्षण कार्यक्रम गरिरहेको अध्यक्ष पोखरेलले बताउनुभयो ।
समूहले गएको चार वर्षदेखि आफ्नै खर्चमा सँगिनी नाचबारे प्रशिक्षण दिँदै आएको छ । समूहमा आबद्धहरूलाई आमा, बुहारी र छोरी गरी तीन वटा समूह बनाइएका छन् । यी समूहले स्थानीयस्तरमा मात्रै होइन मागअनुसार छिमेकी पालिकाहरूमा समेत सँगिनी नाचका नाच्ने गरेका छन् ।
सामूहिक रूपमा सुरुआत गरेको सँगिनी प्रशिक्षणले समाजमा समेत सकारात्मक प्रभाव पारिरहेको आमा र हजुरआमासँगै सँगिनी प्रशिक्षण लिइरहेकी बालिका अपेक्षा खतिवडाले बताउनुभयो ।