काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् । कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आइतबार मन्त्रालयमा भएको शिष्टाचार एवं बिदाइ भेटका क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् ।
मन्त्री पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई सरकारले दिएको सहुलियतबारे समेत जानकारी गराए । दुवै देशका प्रमुख बौद्ध तीर्थस्थललाई जोड्ने गरी ‘बौद्ध सर्किट’को विकास गर्न सकिने उनले बताए ।
पर्यटन प्रवर्द्धनका निम्ति दुवै देशका बीचमा कला, संगीत र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव, कार्यक्रम र पर्यटन बोर्डहरूबीच साझेदारी गर्न सकिने विषयमा उनीहरूबीच छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जानकारी गराएको छ ।
यस्तै, दुवै देशका विश्वसम्पदा क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना, सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानका सम्भावनालगायत विषयमा छलफल भएको थियो ।