घोराही – बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख बढी आम्दानी गरेको छ।
टिमुरका बिरुवा उत्पादन गरेर जिल्लाका साथै प्यूठान, रोल्पा, सल्यान, रुकुमलगायत जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढाले बताए।
परम्परागत रूपमा जङ्गलमा पाइने टिमुरलाई आम्दानी बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पाँच वर्षअघिदेखि नर्सरीका रूपमा विकास गरिएको उनले बताए। यसका लागि सात लाख लगातमा जिआइजेडले ‘ग्रीन हाउस’ र लुम्बिनी प्रदेश वन डिभिजन कार्यालयसँगको साझेदारीमा वन समूहले तीनवटा टनेल निर्माण गरेको थियो।
वन समूहले सुरुका वर्षहरूमा साविकको राप्तीसँगै बाँके, सुर्खेत, गुल्मीलगायत ठाउँमा बिरुवा बिक्री गरेर वार्षिक १० लाखसम्म आम्दानी गरेको भए पनि पछिल्लो समय अन्य जिल्लामा बिरुवा उत्पादन हुन थालेपछि आम्दानी घटेको वन समूहका अध्यक्ष बुढाले बताए।
वन समूहले बिरुवा उत्पादन गरेर बिक्रीसँगै टिमुरबाट आम्दानी लिन वन समूहको १९८ दशमलव ३६ हेक्टरमा एक हजार टिमुरका बिरुवा रोपिको अध्यक्ष बुढाले बताए। रोपिएका बिरुवा हुर्किएमा वन समूहले बिरुवा बिक्रीसँगै फलबाट पनि आम्दानी लिन सकिने उनको भनाइ छ।
वन समूहले वार्षिक २५ हजार बिरुवा उत्पादन गरेर बिक्री गर्दै आएको छ। उनका अनुसार लक्ष्यअनुसार बिरुवा उत्पादन गर्न नसक्दा गत वर्ष १० हजार बिरुवा मात्र बिक्री गरिएको बताए।
नर्सरीका रूपमा विकास भएपछि बङ्गलाचुलीसँगै जिल्लाका विभिन्न सामुदायिक वन समूहसँगै जिल्ला बाहिरका वन समूह तथा व्यक्तिलाई बिरुवा बिक्री गर्दै आम्दानी लिने गरेको उनले बताए।