मोरङ । बैंक ऋण नतिर्ने अभियान सञ्चालन गरेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । यससँगै उनले बैंकबाट लिएको ऋण असुलीको बाटो खुलेको छ ।
बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो ।
कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको छ ।
प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट ऋण लिएका थिए । पछिल्लो दुई वर्षयता उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने अभिव्यक्ति दिँदै आएका छन् ।
प्रसाईंको अभियानका कारण ग्रामिण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाको लगानी र ऋण असुली प्रभावित हुँदै आएको थियो । वित्तिय संस्थाविरुद्ध गतिविधि गर्नका लागि प्रसाईंले समूह नै तयार गरेका थिए । आफ्नै अस्पतालका लागि लिएको ऋणको असुली रोक्नका लागि भने उनी अदालत पुगेका थिए ।
उच्च अदालत विराटनगर, इलाम इजलासका सूचना अधिकारी युगेनकाजी बान्तवाका अनुसार मंगलबार रिट खारेज भएको हो ।