छचल्किँदो मिठो मिठो अगाध वासना थियो
म भित्र खुल्दुली घुमी त्यसै सताउँदै थियो
वसन्त रागले चुमी कता कता छुँदै थियो
म टाकुरो थिएँ उनी भरी तलाउ नै थिइन्
म प्यासमा हुँदा उनी नदी प्रवाह झैँ थिइन्
मुसुक्क मुस्कुराउँदै कटाक्षले नियाल्दथिन्
सुदूरबाट झस्किँदै र जिस्किँदै पगाल्दाथिन्
पहाडकी चरी थिइन् कि स्वर्गकी परी थिइन्
वसन्त वल्लरी थिइन् कि ग्रीष्मकी झरी थिइन्
सुलक्षणा र व्यञ्जना मिठास माधुरी थिइन्
असीम चातुरी थिइन् विलक्षणा धुरी थिइन्
उडेर आउने चरी समीपमा बसेसरि
मिठो मिठो चिरिबिरी सुदूरमा पुगेसरि
झुलुक्क झुल्किई कहाँ पुगिसकेछ त्यो चरी
म कल्पना गरिरहेँ यथार्थ बन्छ के गरी ?
चरी पहाडमा उडी चरो मधेश फाँटमा
उडेर उत्रियूँ भयो , नि सुन्तला बगानमा
चुरे चुली त्यहीँ रह्यो र जिन्दगी गुडिरह्यो
भुवा समान भावना सधैं सधैं उडिरह्यो
चिनारुले सुनाउँदा म हाल चाल पाउँथेँ
यदाकदा नबिर्सिऊँ भनेर गीत गाउँथेँ
अतीतको प्रतीति हो कदापि भेट्न सक्दिन
मिलापका विलापका कथा म मेट्न सक्दिन
पचास छेउमा अहा ! रमेर नाच्दछिन् उनी
अठार वर्षझैँ अझै मुसुक्क हाँस्दछिन् उनी
नसोध को थिइन् तिनी लिएर चित्त तर्किइन्
तथापि टिक्कटाकमा चलाखीसाथ फर्किइन् ।
लक्ष्मीप्रसाद रिजाल
अर्जुनधारा-८, झापा ।