काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताइका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेकपा ९एमाले०का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले देशलाई सुशासनको बाटोमा फर्काउन कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपरेको बताए ।
“हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ,” ओलीले भने, “हाम्रो सरकारलाई सराप्नेहरू पनि नभएका होइनन् । सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरू छन् ।” प्रधानमन्त्री ओलीले दुई पुराना पार्टीले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएको पनि उल्लेख गरे । “राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए,” ओलीले भने, “हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातपात भन्ने नचाहिने कुरा हो । यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्नेछौँ ।”
प्रधानमन्त्री ओलीले जातीय छूवाछुत र साम्प्रदायिकतालाई समाज विकासको ऐजेरु भएका भन्दै त्यसलाई जरैदेखि फाल्नुपर्ने बताए । असमानता, अन्याय, छुवाछुत र दुःख भोगेर कोही सुखी हुन नसक्ने र सुखी हुन असमानता र छुवाछुत हटाउनुपर्ने उनले बताए । संविधानमा आफूहरूले सामाजिक न्याय र समानताको व्यवस्था पनि त्यही कारण गरिएको उनको भनाइ थियो । “मान्छे एउटै हो । जन्मँदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मँदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुरालाई मान्यता दिँदैन,” प्रधानमन्त्री ओलीले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्नेमा बताएका थिए ।