रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले केही समय अगाडी नै युक्रेनमा आक्रमण गरेको भए राम्रो हुने बताउनुभएको छ । उहाँले युक्रेनमा आक्रमण गर्न ढिला भएको भन्दै सन् २०२२ को युद्धका लागि बनाएको विशेष योजना बल्ल अगाडि बढेको बताउनुभयो ।
सन् २०१४ मा रुसले युक्रेनबाट क्रिमिया लिएको थियो । त्यसपछि पूर्वी युक्रेनमा तनाव शुरू भएको थियो । त्यसको आठ वर्षपछि रुसले किभमा आक्रमण थालेको हो ।
एक अन्तर्राष्ट्रिय टिभी च्यानलमार्फत प्रसशारण भएको पत्रकार सम्मेलनमा पुटिनले आणविक हतियार, सिरियाका निर्वासित नेता तथा अन्य घरेलु एजेन्डाबारे आफ्नो धारणा राख्नुभएको छ ।
उहाँले रुसको राष्ट्रिय झन्डा र कब्जा गरिएको युक्रेनी भूभागसहितको रुसको नक्सालाई छेउमा राखेर मन्तव्य राख्नुभएको बीबीसीले जनाएको छ ।
कार्यक्रममा पुटिनले रुसको सार्वभौमिकता बलियो हुँदै गएको दाबी गर्नुभएको छ । उहाँले सिरियाली पूर्व राष्ट्रपति बशर अल असद भाग्नुलाई रुसको हारको रूपमा बुझ्नु गलत भएको समेत बताउनुभयो ।
असदलाई रुसले आश्रय दिएको भएपनि पुटिनले अझै उहाँसँग कुराकानी गर्नुभएको छैन । उहाँँले भूमध्य सागरीय तट लगायत विषयमा सिरियाको नयाँ नेतृत्वसँग तुरुन्त वार्ता गर्ने योजना रहेको बताउनुभयो ।
पुटिनले चीनसँगको सम्बन्ध अहिलेसम्मकै माथिल्लो उचाइमा पुगेको र विश्वलाई नयाँ दिशा दिन सहकार्यको सम्भावना रहेको बताउनुभएको खबरमा उल्लेख छ ।