काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध आइतबार मुद्दा दर्ता भएको हो।
सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जनकारी दिए।
सरकारी वकिल कार्यालयले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको आरोपमा रास्वपा सभापति लामिछानेविरूद्ध मुद्दा दर्ता गरेको हो।
यसअघि शुक्रबार सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा जिबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गरेको थियो।
उनीहरुविरूद्ध १० वर्षसम्म कैद र डेढ अर्ब असुल गर्न माग गरेको थियो। त्यतिबेला लामिछानेविरुद्ध भने मुद्दा दर्ता गरेको थिएन।
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध मुद्दा दर्ता गरिएको थियो।
पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरूङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङविरूद्ध मुद्दा दर्ता भएको हो।