काठमाण्डौ – काठमाण्डौको दरबारमार्गमा एक जनालाई कुटपिट गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका नेतासहित आठ जनालाई पक्राउ गरेको छ ।
हिजो बिहान दरबारमार्गको एक बारमा बैतडी घर भई काठमाण्डौको नैकाप बस्ने ३६ वर्षीय रमेश भट्टमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका भट्टको राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ ।
अनुसन्धानका क्रममा गुण्डागर्दी गर्ने समूहको पहिचान भएपछि आठ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । पक्राउ पर्नेमा प्रमुख व्यक्ति कुलध्वज तामाङ छन् । काभ्रेको रोशी गाउँपालिका–४ घर भई काठमाण्डैको सुन्दरटोल बस्ने ३५ वर्षीय तामाङ तरूण दलका केन्द्रीय सदस्य हुन् ।
तामाङविरुद्ध यसअघि पनि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो भने उनी २०७२ मा डाँका–चोरी मुद्दामा पनि ११ महिना धुलिखेल कारागारमा बसेर छुटेका थिए ।