अमेरिका – पार्कर खेलाडी दिनेश सुनार २० औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड मा नाम लेखाउन सफल भएका छन् । पार्कर र जिम्नास्टिक खेल अन्तर्गतपर्ने ´द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड` विधामा १४ पटकसम्म आँखा बन्द गरि आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडि उल्टि हानेर नयाँ रेकर्ड कायम गरेका हुन् । यस विधामा कम्तिमा १० पटकसम्मको मापदण्ड रहेको थियो ।
दिनेशले ७ डिसेम्बर २०२४ का दिनसिटि अफ एक्रोनवार्ड टु गभरमेन्ट को आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा आफ्नो कला प्रस्तुत गरी रेकर्ड दाबी गर्न गिनिज बुकलाई पठाएका थिए।
गिनिजबुक अफ वर्ल्ड रेकर्डको हेडक्वाटरले उक्त रेकर्डलाई आज (२० डिसेम्बर २०२५) रेकर्डको मान्यता दिएको हो। योसँगै दिनेश २० औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका हुन्। कार्यक्रममा विभिन्न देशका ३०० बढीको सहभागीता रहेको थियो।
कार्यक्रममा मेक्सिको ,जर्मनी, ईन्डिया , अफ्रिका,पोल्यान्ड , आइरल्यान्ड,भुटान ,कोङ्गो,,इटाली,नेपाल, बर्मा,थाइल्यान्ड र अमेरिकी संस्कृति तथा पहिचान झल्काउने नृत्य प्रदर्शन गरिएका थिए।
निर्णायकमा ओहायो राज्यबाट क्रिस्टीन विडी हिहम काउन्सिल सदस्य जिल्ला ६, जेफ विल्हाइट काउन्सिल सदस्य जिल्ला ४ थिए । साथै मार्सल आर्टका प्रशिक्षक द्वय हर्क तिरुवा र कौशिला खनाल पनि निर्णायकको भूमिकामा थिए । त्यस्तै, टाइम किपरमा मार्सल आर्ट खेलाडी निलम खनाल र सिटि अफ एक्रोन वार्ड टु काउन्सिल म्यान फिल लोम्बार्डो थिए ।
रेकर्डको लागि प्लेटिनम प्रायोजक टप शप काठमाडौं र शतिसल एलएलसीका सञ्चालक न्यूयोर्कको सामाजिक अभियन्ता लकेश श्रेष्ठ रहेका थिए । अफिसियल मिडिया पार्टनरमा अन्नपूर्ण पोस्ट् रहेको थियो ।
‘यो सफलता १२ वर्षअघिदेखिको मेहनत र धैर्यता पछिको हो,ुदिनेशले भने, ‘यो रेकर्ड प्रयास गर्न सुरुवात गरेको १२ भयो निरन्तर लागिरहे र आज सफल भएँ ।’ उनले नयाँ पुस्ताहरूलाई पार्कर खेलमा अभिप्रेरित गरि खेलमार्फत् देशको नाम विश्वसामु चिनाउन आफ्नो उद्देश्य रहेको बताए।
नयाँ रेकर्डले नेपाल र अमेरिकाबिचको सम्बन्धमा पनि थप मजबुत बनाउन सहयोग गर्ने उनले विश्वास लिएका छन् । भविष्यमा अमेरिका र नेपालमा पार्कर ट्रेनिङ्ग दिन विश्वस्तरमा उच्च तहमा खेलाडी तथा कोचहरू उत्पादन गर्ने आफ्नो योजना रहेको सुनाए।