धनगढी – अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गरेको घटनामा कञ्चनपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-३ बस्ने ४२ वर्षीय वीरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले जानकारी दिए । ऐरलाई शनिबार डडेल्धुराबाट पक्राउ गरिएको डीएसपी जोशीले बताए ।
ऐर पेशाले इन्जिनियर हुन् । डडेल्धुराको भागेश्वर गाउँपालिका-४ का ३२ वर्षीय विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर कञ्चनपुरकी युवतीको परिवारसँग टेलिफोनमा कुराकानी गरेर बहुविवाह गराउन भूमिका खेलेको आरोप उनीमाथि छ । मालीले ३१ वर्षीया युवतीलाई झुक्याएर २२ मंसिरमा विवाह गरेका थिए । उनले आफू इन्जिनियर भएको र अमेरिकाको भिसा समेत लागिसकेको भन्दै युवतीसँग कुरा गरेका थिए । तर पछि उनी इन्जिनियर नभएर गाडीका सहचालक भएको खुलेको थियो । कञ्चनपुरकी युवतीसँग बिहे भइसकेपछि उनको पहिले नै बिहे भइसकेको टिकटकमार्फत् खुलासा भएको थियो ।
जेठी श्रीमतीको उजुरीका आधारमा कञ्चनपुर प्रहरीले मालीलाई पक्राउ गरेर बहुविवाह मुद्दा चलाएको छ । यो घटनामा मध्यस्थकर्ताको भूमिका खेलेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिका-२ का जनकबहादुर धामीलाई पनि प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । धामी र ऐरलाई मतियार बनाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।