उर्लाबारी-मोरङको उर्लाबारी–७ का ५४ वर्षीय दीपक भण्डारीलाई यतिबेला बाँदर, हात्तीलगायतका जङ्गली जनावर धपाउने घरेलु यन्त्र बनाउन भ्याइनभ्याइ छ ।
एक महिनाअघि उर्लाबारीको एउटा अनलाइन टिभीबाट यन्त्रको प्रदर्शनी गरेपछि दीपकलाई भ्याइनभ्याइ भएको हो । उहाँ भन्नुहुन्छ, “पहाडी भागमा बस्ने आधाभन्दा बढी मानिस बाँदरबाट प्रभावित हुँदै आएका छन् । दैनिक ४०र५० जनाको फोन आउँछ । रुकुम, रोल्पा, जाजरकोट, खोटाङ, गुल्मी, स्याङ्जाबाट बढी माग आएको छ ।” अहिले भण्डारीको उर्लाबारी–७ स्थित दीपक सप्लायर्समा दुई जना कामदार राखेर बाँदर धपाउने यन्त्र बनाउन व्यस्त हुनुहुन्छ । दैनिक ३० वटा उत्पादन हुँदा पनि माग धान्न नसकिएको उहाँको भनाइ छ ।
चौध वर्ष यता नयाँ नयाँ किसिमका घरेलु औजार र यन्त्र उत्पादन गरिरहनुभएका भण्डारीले खेत जोत्ने हलो, मकै छोडाउने मेसिन, सेकुवा पोल्ने चुलो, बाँदर धपाउने यन्त्रलगायत थुप्रै घरेलु यन्त्र उत्पादन गरिसक्नुभएको छ ।
त्यतिमात्र होइन, चक्का हालेर गुड्ने घर पनि बनाएर आफैँ प्रयोग गर्नुभयो । थुप्रै सामग्री निर्माण गरे पनि भण्डारीको व्यवसाय जेनतेन चलेको थियो । उद्योगमा २० लाख रुपियाँ बराबरको सामान मौज्दात थिए तर बाँदर धपाउने यन्त्रको प्रचार भएपछि दीपक आफ्नो व्यावसायिक सफलता बल्ल सुरु भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सबै स्टक सामान सकिन लाग्यो ।
४५ लाख रुपियाँ लगानी भएको उद्योगमा २० लाख बराबरको सामान स्टक हुँदा उद्योग नै धराशायी हुन लागेको थियो ।” उहाँले भन्नुभयो, “मानिसले खोजेका तर कहाँ पाइन्छ भनेर पत्ता नलगाएका वस्तु उत्पादन गरिरहेको रहेछु । सञ्चार माध्यमले उजागर गरिदिएपछि बल्ल माग आउन थाल्यो ।”
उहाँले यतिबेला पालिका र वडालाई सिफारिससहित माग गर्न अनुरोध गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “एउटा खरिद गर्दा महँगो पर्ने र ढुवानीमा समस्या पर्ने भएकाले बाँदर पीडित वडाबाट सिफारिस भएर आयो भने पठाउन सजिलो हुन्छ ।” रुकुमको सिस्ने–५ का लोकेन्द्र बुढाथोकीले भन्नुभयो, “साँच्चीकै प्रभावकारी देखियो । त्यसैले हाम्रो गाउँका सबैले मगाएका छौँ ।” हाल यो यन्त्र भण्डारीले दुई हजार पाँच सय रुपियाँमा बिक्री गरिरहनुभएको छ ।