Aamsanchar

इलाम : निसान पदमार्गको स्थलगत अध्ययन सुरु

Author Image
मङ्गलवार, पौष ९, २०८१

इलाम- इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्द्धनका लागि पहल थालिएको निसान पदमार्गको स्थलगत अध्ययन गरिएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाको संयुक्त पहलमा निर्माण गरिने यो पदमार्गलाई विशेष महत्वका साथ लिइएको छ ।

नेपाल एकीकरणताका तात्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखेका स्थानहरुलाई जोडेर निसान पदमार्ग बनाउने पहल सुरु गरिएको हो । यसका लागि इलामस्थित नेपाली सेनाका गणपति प्रल्हाद घलेसहितको एउटा टोलीले नेपाल–भारत सीमा क्षेत्र सूूर्योदय नगरपालिकाको छब्बिसेबाट स्थलगत अध्ययन सुरु गरेको इलाम नगरपालिका– ७ का वडाध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो ।

छब्बिसेबाट हिजो हिँडेको अध्ययन टोली आज निसान र एकीकरणका बेला प्रयोग गरिएका तोप राखिएको इलामस्थित माइस्थान मन्दिर आइपुग्ने वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुुभयो । पूर्वी सिमाना छब्बिसेबाट हिँडेको अध्ययन टोली करफोकको पूर्णेडाँडा हुँदै निसान ल्याइएको बाटो नामसालिङ, माइबेनी हुँदै इलाम आएको छ ।

श्रीनाथ पल्टनले भारतको नागरी गढीबाट फर्काएको निसानलाई करफोकको पूर्णेडाँडामा ल्याएर राखेको इतिहास छ । सुरक्षाका कारण त्यहाँबाट पनि नामसालिङको हात्तीटारमा निसान सारिएको थियो । पछि इलामको माइथानमा ल्याएर स्थापना गरिएको निसानलाई पुनः माइस्थान मन्दिरमै स्थापना गरिएको छ ।

श्रीनाथ पल्टनले प्रयोग गरेका तोपलाई समेत गतवर्ष माइस्थान मन्दिरमै ल्याएर पुनःस्थापना गरिएको छ । ´इलामको मात्र नभएर देशकै पुरातात्विक महत्व बोकेको निसान ल्याइएको बाटोको हामीले पहिचान गरिरहेका छौं ।`

माइजोगमाई गाउँपालिकाकी उपाध्यक्ष प्रविना राईले भन्नुभयो, ´यसका लागि सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकासँग समन्वय गरेर काम अघि बढिरहेको छ । सुगौली सन्धिपछि नागरी गढीबाट निसान फिर्ता हुँदा पहिलो पटक निसान राखिएको करफोकको पूर्णेडाँडा सूर्योदय नगरपालिकमा पर्छ भने सुरक्षाको कारण देखाउँदै त्यहाँबाट पनि नामसालिङको हात्तीटारमा ल्याइएको थियो । यो स्थान भने माइजोगमाई गाउँपालिकामा पर्छ । पछि इलाम सदरमुकाम भएपछि हात्तीटारबाट निसान अहिलेको माइस्थानमा ल्याएर स्थापना गरिएको छ ।`

पूर्णेडाँडादेखि नामसालिङ हुँदै इलामको माईस्थानसम्म करिब ४२ किलोमिटरको दूरीमा पदमार्ग बनाउन लागिएको उपाध्यक्ष राईले बताउनुभयो । यो पदमार्ग भएर हिँड्नेको एक रातको बास भने नामसालिङमा हुनेछ । पदमार्ग निर्माण भएपछि इलाम भित्रने पर्यटकहरुका लागि यो पदमार्ग एउटा गन्तवय हुने उपाध्यक्ष राई बताउनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर