काठमाडौं- अस्ट्रेलियासँगको चौथो टेस्ट खेलका क्रममा खेलाडीसँगको विवादले विराट कोहलीलाई आइसीसीले कारवाही गरेको छ । अस्ट्रेलियाका डेब्यूटेन्ट खेलाडी साम कोन्सटासलाई खेलका क्रममा नियतवश जानाजान धक्का दिएको भन्दै आइसीसीले कोहलीको म्याच फीको २० प्रतिशत कटौती गर्नुका साथै एक डिमेरिट पोइन्ट पनि दिइएको छ । एकपटक प्राप्त भएको डिमेरिट पोइन्ट २४ महिनासम्म रहिरहन्छ भने त्यस अवधिमा पाएका हरेक डिमेरिट पोइन्ट जोडिँदै जानेछ र सोही अनुसारको कारवाही हुने गर्छ ।
आइसीसीको कोड अफ कन्डक्ट अनुसार क्रिकेटमा कुनै पनि प्रकारको अनुपयुक्त शारीरिक गतिविध निषेध गरिएको छ। लापरवाहीपूर्वक हिँड्नु, जानाजान अर्को खेलाडी वा अम्पायरलाई काँधमा धक्का दिएमा सीमाभन्दा बाहिर गएर खेलाडीहरूले यो नियम उल्लंघन गरेको मानिन्छ । भारत र अस्ट्रेलियाबीचको चौथो टेस्ट बिहीबारदेखि मेलबर्नमा सुरू भएको छ । ५ खेलको श्रृंखला १-१ को बराबरीमा रहेको अवस्थामा यो खेल श्रृंखलाको महत्वपूर्ण खेलका रूपमा समेत छ ।
अस्ट्रेलियाले यस खेलका लागि नयाँ युवा ब्याटरलाई मौका दिएको थियो । १९ वर्षीय युवा ब्याटर साम कोन्सटासले डेब्यू गर्दै अर्धशतक समेत बनाए । पहिलो खेलमा ६५ बलमा ६० रन बनाएर आउट भएका उनले भारतीय बलरसामू निडर शटहरू खेलेका थिए जसले अस्ट्रेलियालाई शानदार सुरूवात दिलाउन मद्दत गर्यो । खेलका दौरान १०औं ओभर सकिएपछि साम कोन्सटास पिचको साइडबाट हिँडिरहँदा विराट कोहली उनी हिँडिरहेको बाटोमा आएर उनीसँग काँध जुधाएको देखिएको थियो । त्यसको जवाफमा सामले कोहलीलाई केही भनेका थिए र कोहलीले पनि जवाफ फर्काएका थिए । अम्पायर र खेलाडीहरू आएर दुवैलाई शान्त पारेका थिए ।
अस्ट्रेलियाले पहिलो दिनको समाप्तिमा ६ विकेट गुमाएर ३११ रन बनाएको छ। स्टिभ स्मिथ ६८ रन बनाएर खेलिरहेका छन् भने यसअघि सामसँगै उसमान खवाजा र मार्नस लबुशानले अर्धशतक बनाएका थिए ।